अनलाइन जुवा र लागूऔषध कारोबारमा संलग्न युवक साढे ९१ लाख रुपैयाँ, डेढ किलो गाँजा र पैसा गन्ने मेसिनसहित पक्राऊ

  • Technology Khabar | १० भाद्र २०८२, मंगलवार
अनलाइन जुवा र लागूऔषध कारोबारमा संलग्न युवक साढे ९१ लाख रुपैयाँ, डेढ किलो गाँजा र पैसा गन्ने मेसिनसहित पक्राऊ

काठमाडौं ।

ललितपुर शान्तिकुना बस्दै आएका २६ वर्षीय गौरव स्याङ्तानलाई अनलाइन जुवा (सट्टेबाजी) र लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सिन्धुली स्थायी घर भएका स्याङ्तानलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार स्याङ्तानले कोठा भाडामा लिएर अनलाइन क्यासिनो सञ्चालन गर्दै आएको र त्यससँगै गाँजा कारोबारसमेत गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले डेरामा खानतलासी गर्दा ९१ लाख ५० हजार रुपैयाँ नगद, करिब डेढ किलो गाँजा, पैसा गन्ने मेसिन र डिजिटल तराजु बरामद गरेको छ।

प्रहरी उपरीक्षक जोशीले दिएको जानकारीअनुसार स्याङ्तानले अनलाइन क्यासिनो सञ्चालन गरी त्यसबाट कमिसन लिने गरेको स्वीकार गरेका छन्। उनले यूट्युबमार्फत यस्तो गतिविधि सिकेको प्रारम्भिक बयान दिएका छन्। प्रहरीले अनुसन्धानलाई थप विस्तृत बनाउँदै सबुत–प्रमाण संकलन गरिरहेको जनाएको छ।

प्रहरीले पक्राउ परेका स्याङ्तानबाट प्रहरीले ११ थान मोबाइल सेट, एक थान ल्यापटप, एक थान आईप्याड, इन्टरनेट प्रयोगका लागि पकेट राउटर, विभिन्न बैंकका ८ वटा एटीएम कार्ड र ‘CHEWANG’S PLAY GROUND’ लेखिएको बोर्ड समेत बरामद गरेको छ।

पक्राउ परेका स्याङ्तानलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धानलाई अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार