नेपालमा २ करोड १० लाख सक्रिय मोबाइल सेवाग्राही, कुन कम्पनीका कति ?

Technology Khabar २४ माघ २०७५, बिहीबार

नेपालमा २ करोड १० लाख सक्रिय मोबाइल सेवाग्राही, कुन कम्पनीका कति ?
गुगलबाट

काठमाडौं ।

अनुज राज । काठमाडौं । नेपालका तीनवटा ठूला मोबाइल सेवा प्रदायक कम्पनीहरुका कुल २ करोड १० लाख भन्दा बढि सक्रिय मोबाइल फोन प्रयोगकर्ताहरु रहेको देखिन्छ ।

दूरसंचार प्रदायक कम्पनीहरुको सक्रिय प्रयोगकर्ताहरु (भीएलआर)को तथ्यांक नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गर्ने नियमित एमआईएसको तथ्यांकमा भन्दा निकै कम रहेको देखिएको छ ।

आगामी दिनमा प्राधिकरणले मासिक सार्वजनिक गर्ने एमआईएस रिपोर्टमा नै समावेश गर्ने तयारी गरिरहेको बेला पहिलो पटक ३ ठूला मोबाइल कम्पनीहरुको पुस मसान्तसम्मको सक्रिय यूजर्स डाटा टेक्नोलोजीखबरलाई प्राप्त भएको छ ।

सो तथ्यांकअनुसार कुल नेपालमा सक्रिय मोबाइल सेवाग्राहीहरुको संख्या २ करोड १० लाख ३९ हजार २ सय ८२ रहेकोछ । जसमध्ये नेपाल टेलिकमको सक्रिय मोबाइल प्रयोगकर्ताहरुको संख्या कुल हिस्साको तुलनामा करिब ३८ प्रतिशत रहेको छ भने स्मार्ट टेलिकमको सक्रिय प्रयोगकर्ताहरुको संख्या केबल २ प्रतिशत मात्र रहेको छ ।

अर्को मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सक्रिय प्रयोगकर्ताहरुको संख्याको आधारमा हेर्दा बजार हिस्सा ६० प्रतिशत हाराहारी रहेको देखिन्छ ।

प्राधिकरणकाअनुसार सरकारी टेलिकम कम्पनी नेपाल टेलिकमका सक्रिय प्रयोगकर्ताहरुको संख्या ७९ लाख ८१ हजार भन्दा बढि रहेको छ । टेलिकमले यो संख्यामा २जी, थ्रीजी र फोरजी सबै प्रयोगकर्ताहरुको संख्या एकमुस्ट समावेश गरेको छ ।

त्यस्तै स्मार्ट टेलिकमको सक्रिय मोबाइल प्रयोगकर्ताहरुको संख्या ४ लाख ३८ हजार भन्दा बढि रहेको छ । स्मार्ट टेलिकमले फोरजी सेवा मात्र संचालन गरिरहेको छ ।

एनसेलको सक्रिय मोबाइल प्रयोगकर्ताहरुको संख्या भने सबैभन्दा धेरै रहेको देखिन्छ । एनसेलसँग पुससम्म १ करोड २६ लाख ४९ हजार भन्दा बढि सक्रिय सेवाग्राहीहरु रहेका छन् । एनसेलसँग फोरजी प्रयोग गर्ने सेवाग्राही १५ लाख ८८ हजार भन्दा बढि रहेका छन भने एनसेलको थ्रीजी प्रयोगकर्ताहरुको संख्या ४५ लाख २२ हजार भन्दा बढि रहेको तथ्यांकमा देखिन्छ ।

यसअघि एनसेलसँग मोबाइल सेवाग्राहीहरुको संख्या १ करोड ६३ लाख ४१ हजार ५ सय ५८ जना रहेको तथ्यांक प्राधिकरणको मंसिर महिनाको एमआईएस रिपोर्टमा उल्लेख छ, जसमध्ये थ्रीजी प्रयोगकर्ताहरु ४६ लाख भन्दा बढि र फोरजी चलाउनेहरु १५ लाख ५७ हजार भन्दा बढि गरि कुल ६१ लाख ५८ हजार ५० जनाले ब्रोडब्याण्ड सर्भिस लिईरहेका देखिन्छन् ।

टेलिकमले पनि आफूसँग १ करोड ८६ लाख ७३ हजार ९ सय ५३ जना मोबाइल सेवाग्राही रहेको दाबी गर्दै आएको थियो र सोहि बिबरण प्राधिकरणको तथ्यांकमा उल्लेख छ । सो बिवरणअनुसार टेलिकमसँग ५७ लाख ३७ हजार ३ सय ७० जनाले थ्रीजी चलाउने गरेका छन भने फोरजी चलाउने सेवाग्राहीहरु ६८ लाख ९ सय ४४ जना तथा ईभीडियो अर्थात टूजी प्रयोग गर्नेहरु १ लाख ३६ हजार ५ सय ७३ जना रहेको एमआईएसमा देखिन्छ ।

त्यसैगरि स्मार्ट टेलिकमसँग १९ लाख ३५ हजार ७ सय ५० जना ग्राहकहरु रहेको एमआईएस रिपोर्टमा उल्लेख छ, जसमध्ये ७५ हजार ५ सय ६० जनाले मात्र फोरजी चलाईरहेको देखिन्छ ।

सक्रिय मोबाइल यूजरको तथ्यांक र प्राधिकरणको मंसिरको डाटा हेर्दा टेलिकमले बिक्री गरेको सीम संख्या भन्दा आधा भन्दा कम मात्रले टेलिकमको सेवा चलाउने गरेको देखिन्छ । अर्थात १ करोड ८६ लाख ७३ हजार भन्दा बढि सीम बेचेको कम्पनीका सक्रिय यूजर भने केबल ८० हजारको हाराहारीमा रहेको तथ्यांकमा देखिन्छ ।

एनसेलसँग पनि एमआईएस रिपोर्टमा उल्लेख गरेको भन्दा कम मात्र प्रयोगकर्ताहरु रहेको देखिन्छ । एनसेलले १ करोड ६३ लाख ४१ हजार भन्दा बढि सीम बिक्री गरेको एमआईएसमा देखिन्छ जसमध्ये १ करोड २६ लाख ४९ हजारको हाराहारीमा मात्र सक्रिय यूजर्स रहेका छन् ।

स्मार्ट टेलिकमको सेवाग्राहीहरुको संख्या हेर्दा पनि अरु सेवा प्रदायकहरुको जस्तै देखिन्छ । स्मार्ट टेलिकमले १९ लाख भन्दा बढि मोबाइल सेवा प्रदायक रहेको दाबी गर्दै आएको भए पनि सक्रिय प्रयोगकर्ताहरु केबल ४ लाख ३८ हजार भन्दा केहि बढि छन् । जून प्रतिशतको आधारमा हेर्दा करिब २३ प्रतिशत हुन आउँछ ।

दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुको सक्रिय प्रयोगकर्ताहरुको तथ्यांक पनि आगामी दिनमा एमआईएस रिपोर्टमा समावेश गर्ने तयारी गरेको छ । प्राधिकरणले दूरसंचार कम्पनीहरुलाई आफ्ना सक्रिय मोबाइल सेवा प्रयोगकर्ताहरुको तथ्यांक उपलब्ध गराउन भनिसकेको छ ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले आगामी दिनमा मोबाइलका सक्रिय यूजरको तथ्यांक समावेश गर्ने बारेमा छलफल भईरहेको बताए ।

‘भीएलआरको डाटालाई पनि हाम्रो एमआईएस रिपोर्टमा राख्ने विषयमा छलफल भईरहेको छ, हामीले कम्पनीहरुलाई तथ्यांक पठाउन भनिसकेका छौं,’ अर्यालले टेक्नोलोजी खबरसँग भने ।
उनकाअनुसार कुन महिनादेखि भीएलआरको डाटा एमआईएस रिपोर्टमा राख्ने भन्ने अझै यकिन छैन् ।

यदि सक्रिय यूजर्सको डाटालाई एमआईएस रिपोर्टमा पनि समावेश गर्न थालिएमा त्यसले हालको मोबाइल पहुँचको प्रतिशत भने घटेको देखिनेछ ।

प्राधिकरणले नेपाल स्याटेलाईट प्रालिको यूजर्स डाटा पनि एमआईएसमा राख्ने गरेको छ, तर यूनाईटेड टेलिकम लिमिटेड(यूटिएल)को प्रयोगकर्ताहरुको तथ्यांक भने एमआईएसमा छैन् । तीन ठूला कम्पनी बाहेक अन्य कम्पनीहरुको सेवा बन्द प्रायः भएको हुँदा ती कम्पनीहरुको सक्रिय मोबाइल सेवाग्राहीहरुको संख्या पनि निकै कम हुनसक्ने अनुमान छ ।

एमआईएस रिपोर्टअनुसार जनसंख्याको आधारमा हेर्दा हाल मोबाइल पहुँच १३२.८१ प्रतिशत रहेको देखिन्छ ।

प्रकाशित: २४ माघ २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२४ माघ २०७५, बिहीबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२४ माघ २०७५, बिहीबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२४ माघ २०७५, बिहीबार