Technology Khabar १ भाद्र २०८२, आईतवार
काठमाडौं ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरुङले एआई नीति कार्यान्वयन गर्न भौतिक संरचना निर्माण, ‘फोरजी नेटवर्क’लाई सबल बनाउने, ‘फाइभजी नेटवर्क’ सुरु गर्ने, ‘डाटा सेन्टर’ खोल्ने गृहकार्यमा सरकार जुटेको बताएका छन्।
तामाङ पत्रकार सङ्घले आज आयोजना गरेको तामाङ मिडिया अवार्ड कार्यक्रममा उनले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताउने क्रममा भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको बताएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङका अनुसार राष्ट्रिय समाचार समिति(रासस), सार्वजनिक प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, गोरखापत्रले मातृभाषाका समाचार सम्प्रेषण गरेर समावेशिताको मर्मअनुसार सङ्घीयतालाई सुदृढ बनाउने प्रयास भएको थपेका छन्।
गोरखापत्रमा ४५, रेडियो नेपालमा २५ र राससले तीन वटा माभृभाषामा समाचार सम्प्रेषण गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले सञ्चार माध्यममा भाषागत समावेशिता प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले चालु आर्थिक वर्षमा राससले तामाङ भाषामा पनि समाचार सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए।
राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाको समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयक टुङ्गिने अवस्थामा रहेको तथा सरकारले हालै एआई नीति अनुमोदन गरेको जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधिमन्त्रीले ‘डिजिटल फ्रेमवर्क नेपाल’को परिकल्पनालाई साकार पार्न एआई नीति उपयोगी हुने विश्वास व्यक्त गरे।-रासस
प्रकाशित: १ भाद्र २०८२, आईतवार