Technology Khabar १ भाद्र २०८२, आईतवार
काठमाडौं ।
सरकारले देशभर प्रतिबन्ध लगाएको मेसेजिङ एप टेलिग्राम दर्ता हुनका लागि आएको छ। कम्पनीले नेपालमा दर्ता हुने इच्छासहित शनिबार पत्र पठाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताएअनुसार, टेलिग्रामका सीईओले नै मन्त्रालयमा सम्पर्क गरेर प्रतिबन्ध लगाएको बारेमा जानकारी माग गरेका थिए।
उनले टेक्नोलोजीखबरलाई भने, ‘गत वर्ष टिकटकलगायत जो जति दर्ता हुन आएका थिए त्यसमा खासै नयाँ थपिएको छैन। हिजो शनिबार भने टेलिग्रामले दर्ता हुन औपचारिक पत्र पठाएको छ। त्यसको कागजातहरु अध्ययन गरेपछि नियमसंगत भएमा दर्ता हुन्छ।’
गत महिना सरकारले टेलिग्राम एपमार्फत् अवाञ्छित अफवाहहरु फैलने भन्दै नेपालमा प्रतिबन्ध लगाएको थियो। उनका अनुसार, त्यसको केही समयपछि उक्त एपका सीईओले नै मन्त्रालयमा सम्पर्क गरी के कति कारणले बन्द गरिएको र के गर्नुपर्छ भनेर ताकेता गरेपछि मन्त्रालयले सूचना निकालेको साथै कन्टेन्ट मोडरेशनमा सहयोग नगरेका कारण बन्द भएको जानकारी दिएपछि दर्ताका लागि अगाडि बढेको हो।
यसबाहेकका अन्य सामाजिक सञ्जाल कहिलेसम्म दर्तामा आउलान् भन्ने जिज्ञासामा प्रवक्ता ठाकुरले भने “यसबारेमा पनि सरकारले पक्कै केही ठोस निर्णय गर्ला तर तत्काल भने त्यसबारे आधिकारिक निर्णय बाहिर आइनसकेको छैन्।”
यसअघि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते सार्वजनिक सूचना जारी गर्दै सबै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो ।
प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको उल्लेख छ।
‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ।
सोही सूचनापछि नेपालमा सेवा प्रदायकहरुले टेलिग्राम पहुँचमा रोक लगाएका छन्।
यसैबीचमा टेलिग्राममाथिको प्रतिबन्ध संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको भन्दै सरोकारवालाहरु डिजिटल राइट्स नेपाललगायत २८ ओटा सरोकारवाला संस्थाहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरेका थिए।
प्रकाशित: १ भाद्र २०८२, आईतवार