Technology Khabar ३१ श्रावण २०८२, शनिबार
काठमाडौं ।
एप्पलले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन नयाँ उपकरणतर्फ ध्यान केन्द्रित गर्न थालेको ब्लूमबर्गका मार्क गर्मनको नयाँ रिपोर्टले जनाएको छ। स्रोतका अनुसार कम्पनीले आफ्नो कमजोर एआई रणनीतिलाई नयाँ मोड दिन सक्ने धेरै स्मार्ट होम उत्पादनहरू तयार गर्दैछ।
नयाँ लाइनअपको केन्द्रमा रहेको मुख्य उत्पादन भनेको एउटा टेबलटप एआई साथी हो, जसलाई ‘रोबोटिक आर्ममा राखिएको आईप्याड’ जस्तो बताइएको छ।
इन्ग्याजेटका अनुसार यसलाई प्रयोगकर्ताले घर वा कार्यालयमा हिँड्दा आफ्नो स्क्रिन उनीतर्फ फर्काउन सक्नेछ। हालको प्रोटोटाइपमा करिब सात इन्चको तेर्सो डिस्प्ले छ, र मोटराइज्ड आर्मले स्क्रिनलाई आधारबाट कुनै पनि दिशामा करिब छ इन्च टाढा सार्न सक्छ।
लामो समयदेखि प्रतिक्षित सिरि भ्वाइस असिस्टेन्टको नयाँ संस्करणसहित, यो उपकरणले जानकारी सम्झन, सुझाव दिन र कुराकानीमा सहभागी हुन सक्नेछ। ब्लूमबर्गका अनुसार एप्पलले यसलाई २०२७ मा बजारमा ल्याउने लक्ष्य राखेको छ।
यसका अतिरिक्त, एप्पलको नयाँ उत्पादन सूचीमा रोबोटिक हातबिनाको सरल स्मार्ट होम हब पनि हुने अनुमान छ। यो उपकरण २०२६ मा नै आउन सक्ने सम्भावना छ। यस हबले संगीत बजाउने, नोट लिन, वेब ब्राउज गर्ने र भिडियो कन्फरेन्सिङ गर्ने सुविधा दिनेछ।
दुवै उपकरणमा ‘क्यारिज्माटिक’ नामको नयाँ अपरेटिङ सिस्टम चल्नेछ, जसले बहु–प्रयोगकर्ता समर्थन गर्नेछ। यीमा चल्ने सिरिलाई विशेषतया खुसी र आकर्षक व्यक्तित्व दिइनेछ, र यसको भिजुअल रूप पनि हुनसक्नेछ। ब्लूमबर्गका स्रोतका अनुसार अन्तिम डिजाइनबारे निर्णय भएको छैन; आन्तरिक परीक्षणमा सिरिलाई कहिले एनिमेटेड फाइन्डर आइकन जस्तो, त कहिले मेमोजी जस्तो देखाइएको छ।
यो खबर अघिल्ला रिपोर्टहरूसँग मेल खान्छ, जसमा एप्पलको यस श्रेणीमा चासो रहेको उल्लेख गरिएको थियो। स्मार्ट होम हबको अवधारणा कम्पनीभित्र २०२२ मा नै उठाइएको थियो, र अब यसलाई यस वर्ष सार्वजनिक गर्ने तयारी भएको बताइन्छ।
रोबोटसम्बन्धी अनुसन्धानमा पनि एप्पल लामो समयदेखि सक्रिय रहँदै आएको छ, कम्तीमा गत वसन्तदेखि व्यक्तिगत रोबोट विकास गरिरहेको दाबीहरू आएका थिए। यद्यपि, ब्लूमबर्गको यो रिपोर्टले ती योजनाबारे विस्तृत जानकारी दिएको भए पनि, एप्पलले कहिले पनि दिशा परिवर्तन गर्न वा परियोजना रद्द गर्न सक्ने सम्भावना कायम छ।
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार