व्हाइटहाउसका क्रिप्टो सल्लाहकार परिषद् प्रमुख बो हाइन्सले दिए राजीनामा

Technology Khabar २६ श्रावण २०८२, सोमबार

काठमाडौं ।

अमेरिकाका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको डिजिटल सम्पत्ति सल्लाहकार परिषद् प्रमुख बो हाइन्सले शनिबार आफू हालको भूमिकाबाट बाहिरिने र निजी क्षेत्रतर्फ फर्किने घोषणा गरेका छन्।

गत महिनाको अन्त्यतिर हाइन्सको नेतृत्वमा, र प्रशासनका केही अधिकारीहरू समेत सहभागी रहेको क्रिप्टोकरन्सी कार्यसमूहले बजार निर्धारण गर्ने खालको क्रिप्टोसम्बन्धी कानुनबारे ट्रम्प प्रशासनको धारणा सार्वजनिक गरेको थियो र अमेरिकी सुरक्षासम्बन्धी नियामकलाई डिजिटल सम्पत्तिका लागि छुट्टै नियम बनाउन आह्वान गरेको थियो।

रोयटर्सका अनुसार ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेपछि क्रिप्टो कार्यसमूह गठन गर्न आदेश दिएका थिए र नयाँ नियम प्रस्ताव गर्न जिम्मेवारी दिएका थिए, जसले अमेरिकी क्रिप्टो नीतिमा आमूल परिवर्तन गर्ने चुनावी वाचा पूरा गरेको थियो।

“राष्ट्रपति ट्रम्पको प्रशासनमा सेवा गर्ने र ह्वाइट हाउस क्रिप्टो काउन्सिलका कार्यकारी निर्देशकको रूपमा हाम्रा उत्कृष्ट एआई तथा क्रिप्टो जार @DavidSacksसँग काम गर्ने अवसर जीवनकै ठूलो सम्मान थियो,” हाइन्सले शनिबार एक्समा लेखेका छन्। एआई मामिलाका लागि ह्वाइट हाउसका जार डेभिड स्याक्सले उनको विदाइ घोषणामा प्रतिक्रिया दिँदै हाइन्सको प्रशंसा गरेका छन्।

हाइन्सले उत्तरी क्यारोलिनाबाट दुईपटक प्रतिनिधि सभाको चुनाव लडे पनि विजयी हुन सकेका छैनन्।

गत महिनामा ट्रम्पले अमेरिकी डलरसँग आवद्ध ‘स्टेबलक्वाइन’ भनेर चिनिने क्रिप्टोकरन्सीका लागि नियामकीय व्यवस्था बनाउन कानूनमा हस्ताक्षर गरेका थिए, जसलाई डिजिटल सम्पत्ति भुक्तानी र रकम स्थानान्तरणको दैनन्दिन माध्यम बन्ने मार्ग प्रशस्त गर्ने माइलस्टोनका रूपमा हेरिएको छ।

हाइन्स ‘जिनियस एक्ट’ नाम दिइएको उक्त कानूनका समर्थक रहेका थिए।

प्रकाशित: २६ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया