ललितकलामा एआईको प्रयोगबारे छलफल

Technology Khabar २२ श्रावण २०८२, बिहीबार

ललितकलामा एआईको प्रयोगबारे छलफल
सांकेतिक तस्बिर। बिङ एआई मार्फत् तयार गरिएको।

काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताएका छन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार आयोजित ‘ललितकलामा एआई’ विषयक अन्तरक्रियामा उनले ‘एआई जेनेरेटेड’ कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा स्थान दिन सकिने बताए।

कुलपति हार्तम्छालीले ललितकलामा एआईको समयसापेक्ष उपयोग अपरिहार्य भएको उल्लेख गरे।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले एआईलगायतका प्रविधिलाई अनुकूल प्रयोग गरेमा त्यसले सकारात्मक परिणाम दिने बताए । समयअनुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उनको धारणा थियो।

त्यस अवसरमा लेखक/पत्रकार अजय शर्माले एआई सो विषयमाथि प्रस्तुति दिँदै एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा प्रकाश पारेका थिए।

शर्माले हाल कला, साहित्य, सङ्गीतलगायत विविध क्षेत्रमा प्रयोग भइरहेको एआईको सन् १९५० मा एलन ट्युरिङले ट्युरिङ टेस्टमार्फत बौद्धिक मेसिनको अवधारणा अगाडि सारेकोमा सन् १९५६ मा अमेरिकी वैज्ञानिक जोन म्याकार्थीले डार्टमथ सम्मेलनमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नाम दिएर यस्तो मेसिनमा परिमार्जन हुँदै आएको बताए।

उनले सन् २०२४ नोभेम्बरमा एआई ह्युमनाइड रोबोट (एआई डा) ले एआईका अवधारणाको जन्मदाता एलन ट्युरिङकै डिजिटल चित्र बनाएको र सो चित्र १० लाख ८४ हजार अमेरिकी डलर (करिब १४ करोड ७२ लाख रुपियाँ) मा बिक्रीसमेत भएको जानकारी दिए।

शर्माको प्रस्तुितमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गरे। उनले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतीबारे पनि समयमै सचेत हुनपर्ने  र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताए।

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले एआईको प्रयोग सही निर्देशनविना अर्थपूर्ण नरहने र सोका लागि विस्तृत ज्ञान आवश्यक रहेको बताउँदै विषयवस्तुको स्रोतबारे सचेत रहन आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ मुकेश मल्ल, कलाकार दिवेशमान सिंह प्रधान, प्राज्ञ कृष्णराज सर्वहरि, रमेश दाहाल, पत्रकार सुनील पौडेललगायतले प्रस्तुतिका विषयमा आफ्ना विचार तथा जिज्ञासा राख्नुभएको थियो । समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । रासस

प्रकाशित: २२ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया