
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेलाई अमेरिकी न्याय मन्त्रालयले अपराधिक मुद्धा लगाएको छ । अमेरिकाले चिनियाँ मोबाइल जायन्ट ह्वावेलाई व्यवसायीक सूचना चोरी गरेको आरोपसहित अपराधिक मुद्धा लगाएको हो ।
यसअघि पटक पटक यो बारेमा अमेरिकामा अनुसन्धान हुँदै आएको रिपोर्टहरु बाहिर आएका थिए ।
अमेरिकी न्याय मन्त्रालयले सोमबार ह्वावेको विरुद्ध दुई मुद्धाहरु दायर गर्दै टी मोबाइलको व्यापारीक सूचना चोरी गरेको आरोप लगाएको छ । त्यसैगरि ह्वावेले प्रतिस्पर्धीहरुबाट संवेदनशिल सूचनाहरु संकलन गर्ने कर्मचारीहरुलाई बोनस दिने प्रतिबद्धताको विरुद्धमा पनि मुद्धा लगाएको छ । अर्को मुद्धा भने अमेरिकाका उत्पादनहरु प्रतिबन्धित मुलुक इरानलाई बेचेको आरोपमा रहेको छ ।
अमेरिकी एजेन्सीले ह्वावेका मेंग वांगझाउका विरुद्धमा पनि औपचारिकरुपमा मुद्धा लगाएको छ । मेंगलाई गएको डिसेम्बरमा क्यानाडामा पक्राउ गरिएको थियो ।
‘हामी आज घोषणा गर्दैछौं कि करिब दुई दर्जन अपराधिक कार्यहरुमा हामीले टेलिकम्यूनिकेसन्स जायन्ट ह्वावे र यसका एसोसिएट्सका विरुद्धमा अपराधिक मुद्धा लगाएका छौं,’ एक्टिंग एटोर्नी जनरल म्याथू ह्वाटकरले प्रेस स्टेटमेन्टमा भने, ‘चीनले आफ्ना नागरिकहरु र चिनियाँ कम्पनीहरुलाई कानूनप्रति जिम्मेबार बनाउनै पर्दछ ।’
ह्वावेका साथै कम्पनीसँग सम्बद्ध स्काइकम ह्वावे डिभाइस यूएसएलाई पनि मुद्धा लगाईएको छ ।
ह्वावेले भने आफू विरुद्ध अमेरिकाले लगाएको मुद्धा प्रति असन्तुष्टि व्यक्त गरेको छ ।
प्रकाशित: १५ माघ २०७५, मंगलवार