अबदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयका बोलपत्रदाताले ओटीपी राखेपछि मात्र ई-जीपी सिस्टम लग इन गर्न सक्ने

Technology Khabar ९ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

अबदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयका बोलपत्रदाताले ओटीपी अर्थात् वन टाइम पासवर्ड राखेपछि मात्र आफ्नो ई-जीपी सिस्टममा लग इन गर्न सक्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा पर्ने कार्यालयले हालै एक सूचना प्रकाशित गरी यसबारे सम्बन्धित सबैलाई सूचित गरेको हो।

‘यस कार्यालयद्वारा सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) मा बोलपत्रदाताबाट हुने क्रियाकलापहरुलाई थप सुरक्षित एवम् व्यवस्थित बनाउन मिति २०८२।०४। १४ गतेदेखि लागू हुने गरी बोलपत्रदाताले ई-जीपी सिस्टममा लग इन गर्दा आफ्नो सही यूजर र पासवर्ड प्रणालीमा प्रविष्ट गरेपश्चात् प्रणालीमा दर्ता भएको प्रयोगकर्ताको ईमेलमा प्राप्त हुने ओटीपी (वन टाइम पासवर्ड) प्रविष्ट गरिसकेपश्चात् मात्र लग इन गर्न मिल्नेगरी ओटीपी लागू गर्न लागिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

यो व्यवस्था लागू भएपश्चात् ईमेलमा प्राप्त हुने ओटीपी प्रविष्ट नगरेसम्म लग इन हुन सम्भव नहुने भएकाले प्रणालीमा दर्ता रहेको प्रयोगकर्ताको ईमेलमा कुनै समस्या (उदाहरणका लागि ईमेलको पासवर्ड आफ्नो साथमा नरहेको/विर्सिएको वा ईमेल सेवा भन्द भइसकेको वा ईमेलको स्पेस भरिएको आदि) रहेको भए यो व्यवस्था लागू हुनु अगावै ईमेल आउने सुनिश्चितता हुने गरी आफ्नो ईमेललाई चुस्त र दुरुस्त राख्ने व्यवस्था गर्न पनि कार्यालयले सम्बन्धित सबैमा सूचित गरेको छ।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया