एआई सञ्चालित वेयरेबल उपकरण बनाउने स्टार्टअप किन्दै अमेजन

Technology Khabar ७ श्रावण २०८२, बुधबार

काठमाडौं ।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित बी नामको स्टार्टअप किन्न अमेजनले सम्झौता गरेको छ। यो स्टार्टअपले कृत्रिम बुद्धिमत्ता (एआई) सञ्झ्यालिएको ब्रेसलेट बनाउँछ जसले कुराकानी सुन्ने र त्यसलाई लिपिबद्ध गर्ने काम गर्छ।

बी को ५० डलर मूल्य पर्ने हातको पट्टीले रेकर्ड गरेको कुराकानीलाई विश्लेषण गरेर छोटकरीमा सारांश निकाल्न, गर्नुपर्ने कामहरूको सूची बनाउनजस्ता काम गर्न सक्छ। बी की प्रमुख कार्यकारी अधिकृत र सह-संस्थापक मारिया डी लूर्डेस जोल्लोले लिङ्कडइनमा पोस्ट गरेपछि अमेजनले मंगलबार सम्झौताको पुष्टि गरेको हो।

सम्झौता अझै सम्पन्न भइसकेको छैन र अमेजनले यसको सर्तहरू खुलाएको छैन। अमेजनका प्रवक्ताले यस डिभाइस प्रयोगकर्तालाई अझ बढी नियन्त्रण दिनेगरी काम गरिने बताएका छन्।

उपकरणले स्वतः अडियो ट्रान्सक्राइब गर्ने भए पनि म्यूट गर्न सकिने सुविधा रहेको रोयटर्सले उल्लेख गरेको छ।

“हामीले यस्तो संसारको कल्पना गरेका थियौं, जहाँ एआई साँच्चै व्यक्तिगत हुन्छ, जहाँ तपाईँको जीवन बुझिन्छ र तपाईँसँगै सिक्ने प्रविधिले त्यसलाई अझ प्रभावकारी बनाउँछ,” जोल्लोले आफ्नो पोस्टमा लेखेकी छिन्। उनले मंगलबारको सोधपुछमा तत्काल प्रतिक्रिया दिएकी थिइनन्।

यो अमेजनको वेयरेबल क्षेत्रमा गरेको पहिलो प्रयास भने होइन। सियाटलस्थित अनलाइन रिटेलर अमेजनले ‘ह्यालो’ नामको स्वास्थ्य ट्रयाकर बजारमा ल्याएको थियो, तर अन्ततः सन् २०२३ मा त्यो परियोजना बन्द गरियो। अमेजनले एलेक्सा जडान गरिएको स्मार्ट चस्मा पनि इको ब्रान्डअन्तर्गत बनाएको छ।

च्याटजीपीटीको मूल कम्पनी ओपनएआईले एप्पलका पूर्व डिजाइनर जोनी आइभको एआई उपकरण स्टार्टअप ‘आईओ’ करिब ६.५ अर्ब डलरमा किनिसकेको छ। अन्य स्टार्टअपहरूले पनि एआई वेयरएबलको क्षेत्रमा प्रारम्भिक प्रयास गरेका छन्, जसको नतिजा मिसिएर आएको छ।

जोल्लोले आफ्नो पोस्टमा अमेजनका डिभाइस कार्यकारी पानोस पानेलाई धन्यवाद दिँदै सम्झौता पूरा भएपछि Bee सोही समूहमा गाभिने संकेत गरेकी छन्। अमेजनको धेरैजसो एआई विकासको काम अमेजन वेब सर्भिसेज (एडब्लूएस) अन्तर्गत भइरहेको जनाइएको छ।

प्रकाशित: ७ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया