सरकारी कार्यालय, प्रहरी, शैक्षिक संस्था तथा बैंकहरुको छाप तथा विवरण किर्ते गर्ने व्यक्ति पक्राऊ

Technology Khabar ४ श्रावण २०८२, आईतवार

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले कर कार्यालय, प्रहरी तथा बैंकहरुलगायतको छाप तथा विवरण तयार गरी किर्ते गर्ने एक जनालाई पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा झापा जिल्लाको धरमपुर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १० बस्ने ५२ वर्षीय सफराज खड्का रहेको ब्यूरोले जनाएको छ।

उनलाई गत असार ३१ गते काठमाडौं महानगरपालिका वडा नं ३, महाराजगञ्ज चोक नजिकबाट पक्राऊ गरिएको हो।

पक्राऊ परेका खड्काको साथबाट त्रिभुवन विश्वविद्यालय,सीटीईभीटी, उच्च माध्यमिक शिक्षा परिषद् र राष्ट्रिय परीक्षा बोर्डको होलोग्राम, विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत बैंक तथा वित्तीय संस्थाको रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको बैंक स्टेटमेन्ट बरामद गरिएको छ।

यसबाहेक ब्यूरोको प्रारम्भिक अनुसन्धान अनुसार खड्काको साथबाट प्रिन्टर २ थान, सीपीयू १ थान, स्क्यानर १ थान, रबर स्ट्याम्प बनाउने मेसिन १ थान, मोबाईल १ थान नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज सफराज खड्काले विगत २ वर्षदेखि आफ्नै निजी पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय (मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, कर कार्यालय, काठमाडौं जिल्ला अदालत) तथा राजनैतिक पार्टीहरुको समेत किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाण पत्रहरु बनाउने गरेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरेको थियो।

खोजतलासका क्रममा उनी बस्ने गरेको डेरा कोठाबाट माथि उल्लेखित दशीका प्रमाणहरु सहित पक्राउ गरिएको हो। हाल उनीमाथि लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाही भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया