
काठमाडौं ।
मेटा प्लेटफर्मको स्वामित्वमा रहेको मेसेजिङ एप प्रतिबन्धित सफ्टवेयरको सूचीमा राख्ने सम्भावना धेरै भएको चेतावनी दिँदै ह्वाट्सएपले रूसी बजार छोड्न तयार हुनुपर्ने आईटी क्षेत्रलाई नियमन गर्ने एक सांसदले शुक्रबार बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना सरकारी सेवाहरूसँग एकीकृत राज्य–समर्थित मेसेजिङ एपको विकासलाई अधिकृत गर्ने कानूनमा हस्ताक्षर गरेका थिए भने मस्कोले ह्वाट्सएप र टेलिग्राम जस्ता प्लेटफर्महरूमा आफ्नो निर्भरता कम गर्न प्रयास गरिरहेको बताइएको छ।
संसदको तल्लो सदनको सूचना प्रविधि समितिका उपप्रमुख एन्टोन गोरेल्किनले टेलिग्रामको एक विज्ञप्तिमा ‘यदि ६८ प्रतिशत रूसीहरूले प्रत्येक दिन प्रयोग गर्ने व्हाट्सएपले बजार छोडको खण्डमा राज्य–समर्थित एप “म्याक्स” ले बजार हिस्सा प्राप्त गर्न सक्ने’ बताएका छन्।
मेटालाई रूसमा अतिवादी संगठनको रूपमा तोकिएको उल्लेख गर्दै “ह्वाट्सएपले रूसी बजार छोड्न तयार हुने समय आएको छ” गोरेल्किनले भने।
मस्कोले युक्रेनमा दशौं हजार सेना पठाएदेखि कम्पनीको फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू सन् २०२२ देखि रूसमा प्रतिबन्धित छन्।
मेटाले भने टिप्पणीको लागि गरिएको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया नदिएको उल्लेख गरिएको छ।
संसदको आईटी समितिका सदस्य एन्टोन नेम्किनले रूसमा ह्वाट्सएपको भाग्य पूर्वनिर्धारित रहेको बताएका छन्।
“रूसको डिजिटल स्पेसमा यस्तो सेवाको उपस्थिति वास्तवमा राष्ट्रिय सुरक्षाको कानुनी उल्लङ्घन हो” तास समाचार एजेन्सीले नेम्किनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
ह्वाट्सएपले के रूस छोड्न सक्छ भनेर सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘सबै सेवाहरूले रूसी कानूनको पालना गर्नुपर्छ’ भन्ने बताएको उल्लेख छ।
रूसले लामो समयदेखि स्वदेशी सेवाहरूलाई प्रवद्र्धन गरेर डिजिटल सार्वभौमिकता भनिने कुरा स्थापित गर्न खोजेको छ। सन् २०२२ पछि केही पश्चिमी कम्पनीहरूले रूसी बजारबाट बाहिरिएपछि विदेशी टेक प्लेटफर्महरू प्रतिस्थापन गर्ने यसको दबाब झनै जरुरी भएको उल्लेख गरिएको छ।
यस हप्ता क्रेमलिनले पुटिनबाट निर्देशनहरूको सूची प्रकाशित गरेको बताइएको छ जसमा रूस विरुद्ध प्रतिबन्ध लगाएका तथाकथित “मित्रहीन देशहरू” मा उत्पादन गरिएका सफ्टवेयर, सञ्चार सेवाहरू सहित रूसमा प्रयोगमा थप प्रतिबन्धहरू लागू गर्ने आदेश समावेश रहेको उल्लेख गरिएको छ।
पुटिनले सेप्टेम्बर १ तारिखको समयसीमा दिएको बताइएको छ। गोरेल्किनले पुटिनको आदेशलाई उल्लेख गर्दै व्हाट्सएप प्रतिबन्धित सञ्चार सेवाहरू मध्ये एक हुन सक्ने बताएका छन्।
यदि यसले रूसी कानूनको पालना गर्दछ भने रूसमा जन्मिएका पावेल डुरोभद्वारा स्थापित टेलिग्राम प्रतिबन्धित हुनबाट बच्ने अपेक्षा गरेका थिए भनि गोरेल्किनले बताएका छन्।
राज्य सञ्चार नियामक रोस्कोम्नाडजोरको यस हप्ताको अपडेट अनुसार टेलिग्रामले रूसी कानुनी संस्था सिर्जना गर्ने प्रक्रिया सुरु गरेको रोयटर्सले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ श्रावण २०८२, शनिबार