
काठमाडौं ।
सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशनले सुर्खेत जिल्लाका दुई नगरपालिकाका ७० जना स्थानीय युवाहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ।
जेनेस सलुशनको तालिम शाखाले २०२५ जुन ३० देखि जुलाई ९ सम्म भेरीगंगा नगरपालिकामा १० दिने आईटी तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिममा ३४ जना युवाहरुलाई डिजिटल साक्षरता, क्लाउड कम्प्युटिङ, जेनरेटिभ एआई, डिजिटल मार्केटिङ, साइबर सुरक्षा तथा वर्डप्रेस वेबसाइट विकासका व्यावहारिक सीपहरु प्रदान गरिएको थियो।
प्रशिक्षक देशदीपक धोबी र प्रदीप पनेरुको नेतृत्वमा सञ्चालित तालिमको अन्त्यमा सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
नेपालमा बढ्दो डिजिटल अर्थतन्त्रमा अवसर खोज्ने युवाहरुलाई तयार पार्ने जेनेसको प्रतिबद्धता यो तालिमले अझै सुदृढ बनाएको छ।
यसैगरी, जेनेस सलुशनको तालिम शाखाले २०२५ मे २२ देखि जुन ८ सम्म वीरेन्द्रनगर नगरपालिकामा १५ दिने एडब्लुएस एकेडेमी क्लाउड फाउन्डेसन्स कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ। यस तालिमले ३६ जना सहभागीहरुलाई क्लाउड कम्प्युटिङसम्बन्धी आधारभूत सीप तथा एडब्लुएस (AWS) सेवाबारेको ज्ञान प्रदान गर्यो।

सञ्चालित प्रत्यक्ष तालिममा क्लाउड सुरक्षा, नेटवर्किङ, कम्प्युट, स्टोरेज, डाटाबेस लगायतका मुख्य विषयवस्तु समेटिनुका साथै, स्केलेबल एप्लिकेसन विकाससम्बन्धी अभ्यासात्मक प्रयोगशालाहरु पनि समावेश थिए। अन्तिम परियोजना (capstone project) सफलतापूर्वक पूरा गरेपछि सबै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। यसले नेपालको प्रविधि क्षेत्रको विस्तारसँगै युवाहरुलाई क्लाउड करियर र इन्टर्नसिपका लागि तयार पार्न थप महत्वपूर्ण योगदान पुर्याएको छ।
साथै, उत्कृष्ट प्रदर्शन गर्ने ६ जना सहभागीहरुलाई आगामी जुलाई १५ देखि सुरु हुने तीन महिने उन्नत तालिम कार्यक्रममा सहभागी गराउने निर्णय गरिएको छ, जसले उनीहरुको सीप अझै सुदृढ बनाउने कम्पनीले जनाएको छ।
प्रकाशित: ३ श्रावण २०८२, शनिबार