सूर्यमा भयानक फिलामेन्ट विस्फोट, ज्वालामुखीजस्ता आगाका लप्का ४ लाख किलोमिटर टाढासम्म पुगे

Technology Khabar २ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

जुलाई १५ मा सूर्यको उत्तरपूर्वी किनाराबाट एक विशाल “फिलामेन्ट” विस्फोट भएको थियो, जसले सूर्यको सतहमै केहीबेरका लागि ठूलो रूपान्तरण ल्यायो र अन्तरिक्षतर्फ कोरोनल मास इजेक्सन (सीएमई) नामक ऊर्जा विस्फोट पठायो।

यस शक्तिशाली विस्फोटले सूर्यको सतहमा तातो प्लाज्माको चम्किलो खाडल कोरेको थियो, जसको लम्बाइ २,५०,००० माइल (झन्डै ४,००,००० किलोमिटर) रहेको छ — यो पृथ्वीदेखि चन्द्रमासम्मको दूरी बराबर हो।

नासाको सोलर डाइनामिक्स अब्जरभेटरी (एसडीओ) ले यो विस्फोटलाई अद्भुत विवरणसहित कैद गरेको छ, जसमा फिलामेन्ट विझ्रिंदै गरेको र सूर्यको वातावरणमा तातो पदार्थको ठूलो धनुषाकार रेखामा फैलिएको देखिन्छ।

फिलामेन्ट भत्किएपछि ” फायर क्यान्योन ” भनिने ज्वालामुखीय खाडल जस्तो क्षेत्र बन्यो, जसको पर्खाल झन्डै १२,४०० माइल (२०,००० किलोमिटर) अग्लो रहेको स्पेसवेदर डटकमले जनाएको छ।

नासाका अनुसार, यस्ता चम्किला दरारहरू सूर्यको चुम्बकीय क्षेत्रको रेखाहरू तीव्ररूपमा चुँडिएर पुनः जुरेपछि बनिन्छन्, जसले पछाडि तातो प्लाज्माको खाडल छोड्छ र त्यो चुम्बकीय क्षेत्रको नयाँ संरचना अनुसार फैलिन्छ।

यो दृश्य केवल सुन्दर मात्र होइन, खतरनाक पनि हुन सक्छ। एनओएएका अनुसार, फिलामेन्टहरू सूर्यको सतहभन्दा माथि चुम्बकीय क्षेत्रले अड्याएको चिसो र बाक्लो प्लाज्माका रिबनहरू हुन्।

जब यी अस्थिर हुन्छन्, तिनीहरू विस्फोट गर्न सक्छन् र कहिलेकाहीं शक्तिशाली कोरोनल मास इजेक्शन अर्थात् सीएमई उत्पन्न गर्छन् जसले पृथ्वीमा जियोम्याग्नेटिक स्टोर्म अर्थात् भू-चुम्बकीय आँधी ल्याउन सक्ने स्पेस डटकमले उल्लेख गरेको छ।

सोलर एन्ड हेलियोस्फियरिक अब्जरभेटरी (सोहो) र जीओईएस-१९ उपग्रहबाट प्राप्त कोरोनाग्राफ तस्वीरहरूले उक्त सीएमई पृथ्वीको दिशामा नभएको देखाउँछ।

“सीएमई पृथ्वीबाट टाढा गइरहेको छ,” अरोरा चेजर भिन्सेन्ट लेड्भिनाले एक्स (पूर्व ट्विटर) मा लेखेका छन्। “यहाँ एलएएससीओ सी२ (बायाँ) र सीसीओआर-१ (दायाँ) मा देखिएको सीएमईको पछिल्लो फ्रेमहरूमा यो अझ फैलिएको देखिन्छ। यसको गति सुस्त छ र पृथ्वीबाट टाढा गइरहेको छ।”

प्रकाशित: २ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया