Technology Khabar १ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
मेटाले आफ्नो एआई च्याटबोट प्रणालीमा देखिएको एउटा सुरक्षा कमजोरी (बग) ठीक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई अरू व्यक्तिका निजी प्रम्प्ट र एआईद्वारा गरिएका जवाफहरू हेर्न मिल्ने अनुमति दिइरहेको थियो।
सुरक्षा परीक्षण कम्पनी एपसेक्युरका संस्थापक सन्दीप होडकासियाले २०२४ डिसेम्बर २६ मा यो बग मेटालाई आफूले निजी रूपमा रिपोर्ट गरेका बताएका छन्। त्यसको बदलामा मेटाले उनलाई १० हजार डलरको बग बाउन्टी पुरस्कार प्रदान गरेको हो।
होडकासियाका अनुसार मेटाले २०२५ जनवरी २४ मा उक्त बगको समाधान गरेको हो। मेटाले कुनै पनि दुर्भावनापूर्ण प्रयोग भएको प्रमाण नपाएको जनाएको छ।
होडकासियाले बताएअनुसार मेटा एआईले प्रयोगकर्ताहरूलाई आफूले लेखेका प्रॉम्प्टहरू सम्पादन गरी नयाँ टेक्स्ट वा इमेज जेनेरेट गर्न दिन्छ। यस प्रक्रियामा मेटा को सर्भरले प्रत्येक सम्पादन गरिएको प्रम्प्ट र त्यसको जवाफलाई एक अद्वितीय नम्बर दिन्थ्यो।
होडकासियाले आफ्नो ब्राउजरको नेटवर्क ट्राफिक विश्लेषण गर्दा पत्ता लगाए कि उक्त नम्बर परिवर्तन गरेपछि मेटा को सर्भरले अन्य प्रयोगकर्ताको प्रम्प्ट र एआई जवाफ देखाइरहेको थियो।
यसको अर्थ मेटाको सर्भरले कुनै प्रयोगकर्ता उक्त प्रम्प्ट हेर्न योग्य हो कि होइन भन्ने उचित जाँच गरिरहेको थिएन। होडकासियाका अनुसार मेटाका सर्भरले सिर्जना गरेका प्रम्प्ट नम्बरहरू “अत्यन्तै सजिलै अनुमान गर्न मिल्ने” खालका थिए, जसका आधारमा कुनै ह्याकरले ती नम्बरहरू तीव्र रूपमा परिवर्तन गर्दै अरू प्रयोगकर्ताका निजी प्रम्प्टहरू संकलन गर्न सक्ने जोखिम थियो।
मेटाका प्रवक्ता रायन ड्यानियल्सले जनवरीमा बग समाधान गरिसकेको र दुरुपयोग भएको प्रमाण नपाइएको पुष्टि गरेका छन्।
यो समाचार यस्तो समयमा आएको हो, जब ठूला प्रविधि कम्पनीहरू आफ्नो एआई उत्पादनहरू छिटो बजारमा ल्याउन र सुधार गर्न आतुर देखिन्छन्, तर तिनसँग सम्बन्धित सुरक्षाजन्य र गोपनीयता सम्बन्धी समस्या अझै चुनौतीपूर्ण छन्।
मेटा एआईको स्वतन्त्र एप, जुन यसै वर्ष प्रारम्भमा च्याटजीपीटीजस्ता प्रतिस्पर्धीहरूसँग टक्कर दिन सार्वजनिक गरिएको थियो, सार्वजनिक भएपछि केही प्रयोगकर्ताहरूले निजी ठानेका कुराकानीहरू अनजानमै सार्वजनिक भएको अनुभव गरेका थिए, जसले शुरुवातमै आलोचना व्यहोर्नुपरेको थियो।
प्रकाशित: १ श्रावण २०८२, बिहीबार