Technology Khabar १ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
तीन वर्षअघि नासाले एउटा अन्तरिक्ष यानलाई ठूला एस्टेरोइड अर्थात् क्षुद्रग्रहमा जानाजान ठोकाएर इतिहास रचेको थियो। यस मिशनले एस्टेरोइडको मार्ग परिवर्तन गरेर भविष्यमा पृथ्वीलाई ‘सम्भावित खतरनाक’ अन्तरिक्ष पत्थरहरुबाट जोगाउन सकिने मानव क्षमताको प्रमाण दिएको थियो।
तर हालै गरिएको एउटा नयाँ विश्लेषणले उक्त ऐतिहासिक टक्करबाट निस्किएका पत्थरका टुक्राहरु अपेक्षित व्यवहारअनुसार चलेको देखिएको छैन। यसले भविष्यमा हुने एस्टेरोइड टार्गेट गर्ने मिसनहरूको सफलतामा प्रश्न उठाएको लाइभसाइन्सले उल्लेख गरेको छ।
सन् २०२२ सेप्टेम्बर २६ मा नासाको डबल एस्टेरोइड रिडाइरेक्शन टेस्ट (डीएआरटी) नामक अन्तरिक्ष यानले डिमोर्फोस नामको एस्टेरोइडमा करिब २४,००० किलोमिटर प्रति घण्टाको गतिमा ठोक्किएको थियो।
यो मिशन सफल ठहरिएको थियो। डीएआरटीले डिमोर्फोसको कक्षा परिवर्तन गर्दै त्यसको सहयात्री एस्टेरोइड डिडिमोस वरिपरि घुम्ने समय करिब ३० मिनेटले घटाएको थियो र एस्टेरोइडको आकृति नै परिवर्तन गरिदिएको थियो।
पृथ्वीबाट १ करोड १० लाख किलोमिटर टाढा भएको यो टक्करले ‘काइनेटिक इम्प्याक्टर’ भनिने विधि ग्रह रक्षा उपायको सम्भाव्य विकल्प हुन सक्ने देखाएको थियो।
तर जुलाई ४ मा द प्लानेटरी साइन्स जर्नलमा प्रकाशित नयाँ अध्ययनले केही जटिलता देखाएको छ। टक्करपछि एस्टेरोइडबाट छुट्टिएका ठूलाठूला दर्जनौं ढुंगाहरू (बोल्डर) अपेक्षाभन्दा धेरै वेगमा यात्रा गरिरहेका छन् र अनपेक्षित ढाँचामा विचरण गरिरहेका छन्।
युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को लाइट इटालियन क्युबस्याट फर इमेजिङ अफ एस्टेरोइड्स (लाइसियाक्युब) बाट प्राप्त तस्बिरहरूको विश्लेषणमा वैज्ञानिकहरूले १०४ वटा बोल्डर ट्र्याक गरेका थिए। ती बोल्डरहरूको आकार ०.२ मिटरदेखि ३.६ मिटरको बीचमा थियो।
अध्ययनका प्रमुख लेखक टोनी फार्नह्यामका अनुसार यी बोल्डरहरू अनुमानितभन्दा तीन गुणा बढी गति लिएर हिँडेका थिए। “यी बोल्डरहरू सतहबाट छुटिँदा अतिरिक्त धक्का पाएका थिए भन्ने देखिन्छ,” उनले बताएका छन्। “यस अतिरिक्त कारकले भविष्यका यस्ता मिसनहरूको योजना बनाउँदा विचार गर्नुपर्ने भौतिकीलाई परिवर्तन गर्छ।”
टोलीले यी बोल्डरहरू अपेक्षित रूपमा नफैलिएको पनि देखाएको छ। “यी दुई अलग समूहमा क्लस्टर भएर बसेका थिए, जबकि अन्यत्र खासै केही थिएन,” फार्नह्यामले बताएका छन्। “यसको मतलब यहाँ केही अज्ञात कारणले प्रभाव पारिरहेको छ।”
भविष्यमा पृथ्वीमाथि एस्टेरोइडको सम्भावित आक्रमण भएमा निर्णय लिन आवश्यक सम्पूर्ण जानकारी हातमा रहोस् भन्ने उद्देश्यले त्यतिबेला के भएको थियो भनेर वैज्ञानिकहरू अझ गहिरो रूपमा बुझ्न चाहन्छन्।
“यदि कुनै एस्टेरोइड पृथ्वीतर्फ आउँदै थियो र हामीले त्यसलाई एक विशेष मात्रामा सार्नैपर्ने अवस्था थियो भने, यस्ता सूक्ष्म विवरणहरू अत्यन्तै महत्वपूर्ण हुन्छन्,” अध्ययनकी सह-लेखिका जेसिका सनशाइनले बताएकी छन्। “तपाईं यसलाई एक खगोलीय पूल गेम (बिलियर्ड्स) जस्तै सम्झन सक्नुहुन्छ,” उनले थपिन्। “सबै भेरिएबल नहेरीकन हामीले ‘पकेट’ मिस गर्ने खतरा हुन्छ।”
प्रकाशित: १ श्रावण २०८२, बिहीबार