आईटी हब, को-वर्किङ स्पेस तथा बहुभाषिक सूचना प्रणाली निर्माण र विकास गर्ने काठमाडौं महानगरको योजना

Technology Khabar २९ असार २०८२, आईतवार

आईटी हब, को-वर्किङ स्पेस तथा बहुभाषिक सूचना प्रणाली निर्माण र विकास गर्ने काठमाडौं महानगरको योजना
फाइल तस्विर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्रविधि, संस्कृति र जीवनशैलीको संगम मार्फत महानगरलाई डिजिटल युगको “स्मार्ट सिटी” तथा अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा विकास गर्न आईटी हब, को-वर्किङ स्पेस, डिजिटल नोम्याड फ्रेन्डली पूर्वाधार, बहुभाषिक सूचना प्रणाली निर्माण तथा विकास गर्ने योजना बनाएको छ।

‘काठमाडौंलाई नवप्रवर्तन, अध्यात्म, पर्यटन र जीवनशैलीको आकर्षक केन्द्र बनाइनेछ। संयुक्त राष्ट्र संघको स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्रथामिकता दिइनेछ’, आज महानगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यी लयायत थुप्रै प्रविधिमैत्री योजनाहरु समावेश गरिएको छ।

यसैगरी सार्वजनिक सुरक्षाको लागि नगर प्रहरीको क्षमता अभिवृद्धि, स्मार्ट गस्ती प्रणाली, सीसीटीभी विस्तार, रात्रीकालीन निगरानी प्रणाली तथा डिजिटल रिपोर्टिङ प्रणाली विकास गरिने भएको छ।

यसैगरी महानगरको मौलिक कला, संस्कृति, भाषा र सम्पदाको संरक्षण, पुनःस्थापना तथा नवप्रवर्तन मार्फत डिजिटल प्रविधिको उपयोग, सामुदायिक सहभागिता, “लाइभ हेरिटेज” अनुभव, रात्रीकालिन पर्यटन र वातावरणमैत्री जस्ता कार्यक्रम मार्फत् पर्यटकीय पूर्वाधार प्रवर्द्धन गरी,
सांस्कृतिक पर्यटनलाई स्थानीय रोजगारी, शिक्षा र अन्तर्राष्ट्रिय बजारसँग जोड्दै क्रमशः समृद्ध सांस्कृतिक अर्थतन्त्र निर्माणमा जोड दिइनेछ।

‘जलवायु संकट र फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान गर्न जिरो वेस्ट सिटी अभियान, सोर्स सेग्रिगेशन अर्थात् फोहरको स्रोतमै छुट्याउने, वेस्ट टु एनर्जी अर्थात् फोहरबाट ऊर्जा, सामुदायिक पुनः प्रयोग केन्द्र, शहरी वन जस्ता अवधारणाहरुको कार्यान्वयन र नागरिक सचेतनामूलक कार्यक्रम मार्फत नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै वातावरणमैत्री र दिगो सहरी विकास प्रणाली निर्माणका लागि कार्यक्रमहरू ल्याइने नीति तथा कार्यक्रमले समेटेको छ।

यसबाहेक विपद् व्यवस्थापनको लागि पूर्व तयारी, प्रतिकार्य र पुनर्स्थापनालाई समग्ररूपमा समेट्दै भू-सूचना प्रणाली (जीआईएस) स्थापना, खुला ठाउँ संरक्षण, इमर्जासी अपरेशन सेन्टरको सञ्चालन, निजी क्षेत्र र नागरिक समाजसँग सहकार्यजस्ता नवप्रवर्तनात्मक उपायमार्फत मानव केन्द्रित, प्रविधिमैत्री एकीकृत विपद् व्यवस्थापन प्रणाली निर्माण गरिने उल्लेख छ।

 

प्रकाशित: २९ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया