Technology Khabar २९ असार २०८२, आईतवार
काठमाडौं ।
उत्पादित प्याजले बजार नपाएपछि चितवनका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन्।
भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थालेको बताए। उनले स्टिलको जालीको भकारी बनाएर टेबुल पङ्खाको सहायताले प्याजको भण्डारण गरेका हुन्। उनले भने, “मैले सामाजिक सञ्जालमा खोज्दा प्याज भण्डारण गर्नका लागि घरेलु उपाय भेटाएर यसरी भण्डारण गरेको हुँ।”
स्टिलको जालीमुनि पनि जाली बनाएर केही भाग खुला छाडेर खडाइको सहायताले प्याजलाई सुक्खा बनाएर राख्ने गरेको उनले बताए। उनले प्याजलाई विगत तीन महिनादेखि यसैगरी भण्डारण गरेर राखेका छन्। यसो गर्दा प्याजभित्रको तातो हावा बाहिर जाने र चिसो हावाले प्याजलाई बाफिन नदिने हुन्छ। जसका कारण प्याज कुहिने र टुसा पलाउने समस्या नहुने उनको बुझाइ छ।
प्याज उत्पादन हुने समयमा थोक मूल्य प्रतिकेजी रु २० परेपछि घाटामा बिक्री नगर्ने योजनासहित आफूले भण्डारणको उपाय अपनाएर काम गरेको उहाँले बताए। उनले यसरी एक टन प्याज भण्डारण गरेर राखेका छन्। यसलाई अहिले मूल्यमा सुधार आएपछि बजारमा पुर्याउन थालेको उनले बताए। अहिले थोकमा प्रतिकेजी रु ५० भन्दा बढीपर्न थालेपछि प्याज बिक्री गर्न लागेको शिवकुमारले जानकारी दिए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्याज बिक्री नभएपछि महतोले भण्डारणको विधि र प्रविधि आफैँले खोजेर भण्डारण गरेका हुन्।
कार्यालयले चितवनको १० हेक्टर क्षेत्रफलमा व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो। अधिकांशले कुहिने समस्या आएपछि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका थिए।-रासस
प्रकाशित: २९ असार २०८२, आईतवार