Technology Khabar २८ असार २०८२, शनिबार
काठमाडौं ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ अर्को अन्तरिक्षयात्री उडानको तयारी अन्तिम चरणमा पुगेको छ।
नासाले आगामी जुलाई ३१ मा स्पेसएक्ससँगको संयुक्त अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेको छ। ‘क्रु–११’ नाम दिइएको यो उडान फाल्कन ९ रकेटमार्फत फ्लोरिडास्थित नासाको क्यानेडी स्पेस सेन्टरको प्रक्षेपण स्थल एलसी-३९एबाट प्रस्थान गर्नेछ।
उक्त रकेटले क्रु ड्र्यागन “एन्डेभर” लाई पृथ्वीको निम्न कक्षमा लैजानेछ। यो एन्डेभरको छैटौँ मिसन हुनेछ, जसले यसलाई स्पेसएक्सको सबैभन्दा धेरै प्रयोग भएको क्रु ड्र्यागन बनाएको छ।
स्पेस डटकमका अनुसार यस उडानमा नासाका एस्ट्रोनट जेना कार्डम्यान (कमाण्डर) र माइक फिन्के (पाइलट) सँगै जापानी अन्तरिक्ष निकाय जाक्साका मिशन विशेषज्ञ किमिया युई र रुसी अन्तरिक्ष संस्था रोसकोसमसका ओलेग प्लाटोनोभ सहभागी हुनेछन्। कार्डम्यान र प्लाटोनोभका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने युईको दोस्रो र फिन्केको चौथो यात्रा हुनेछ।
क्रु–११ लाई सहयोग गर्ने फाल्कन ९ को पहिलो चरणको रकेट बी१०९४ हो, जसले यसअघि दुई मिशन (स्टारलिंक १२–१० र एक्जियम-४) सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ। जुन २५ मा भएको एएक्स-४ मिशनपछिको मर्मत कार्य अन्तिम चरणमा रहेको नासाले जानकारी दिएको छ।
अब केही दिनभित्र यो रकेटलाई एलसी-३९ए नजिकैको स्पेसएक्सको होराइजोन्टल इन्टिग्रेशन फ्यासिलिटीमा पुर्याएर दोस्रो चरणसँग जोडिनेछ र स्टेटिक फायर टेस्ट गरिनेछ।
क्रु ड्र्यागन एन्डेभरले मार्च २०२४ मा भएको क्रु–८ पछिको मर्मत तथा सुधार पूरा गरिसकेको छ। अब यसले ‘ड्रोग ३.१’ प्याराशुट प्रयोग गर्ने पहिलो क्रु ड्र्यागन बन्नेछ, जुन हालैको सीआरएस-३२ कार्गो ड्र्यागन मिसनमा परीक्षण गरिएको थियो। यसमा प्याराशुटको सामग्रीमा बलियो संरचना र नयाँ प्याकेजिङ प्रणाली जडान गरिएको छ, जसले थप व्यवस्थित रूपमा फुल्न सहयोग पुर्याउने नासाका व्यावसायिक क्रु प्रोग्राम व्यवस्थापक स्टीभ स्टिचले बताए।
स्पेसएक्सका ड्र्यागन मिसन निर्देशक साराह वाकरका अनुसार, “यो ड्र्यागन यानले सन् २०२० मा नासाका एस्ट्रोनट बॉब बेहेन्केन र डग हर्लीसँग सुरु गर्दै हालसम्म आठ देशका १८ जना अन्तरिक्षयात्रीलाई अन्तरिक्ष पुर्याइसकेको छ। जसले २०११ मा अन्त्य भएको स्पेस शटलपछि अमेरिकामा मानव अन्तरिक्षयात्रा पुनःसञ्चालन गराएको हो।”
क्रु–११ पहिले जुलाईको अन्त्य वा अगस्टको सुरुमा तय गरिएको भए पनि अब यो उडान दुई साता अघि सारिएको छ। कारण, आगामी सीआरएस-३३ स्टेसन सप्लाइ मिसन अन्तर्गत स्पेसएक्सको कार्गो ड्र्यागनद्वारा एक महत्वपूर्ण आईएसएस पुनःउचाइ नियमन गरिनु छ।
सीआरएस-३२ कार्गो ड्र्यागन आईएसएसको कक्षा सम्हाल्न मिल्ने पहिलो यान हुनेछ। यसले सन् २०३० तिर आईएसएसलाई सुरक्षित तरिकाले पृथ्वीको वायुमण्डलमा फर्काउने अमेरिकी क्षमताको विकासमा थप योगदान पुर्याउने बताइएको छ।
प्रकाशित: २८ असार २०८२, शनिबार