
काठमाडौं ।
ह्वाइटहाउसका पूर्व सल्लाहकार तथा अर्बपति इलन मस्कले अमेरिकामा नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा एक्स (पूर्व ट्विटर) मा गरेपछि केही धनी तथा प्रभावशाली व्यक्तिहरूले उक्त प्रयासमा चासो र समर्थन देखाएका छन् ।
“अमेरिका पार्टी” नाम दिइएको उक्त प्रस्तावित पार्टी दुई दलीय प्रणालीबाट स्वतन्त्रता दिने दावी गरिएको एक्स पोस्टमा अर्बपति मार्क क्युबन र लगानी बैंकर एन्थोनी स्कारामुचीले मस्कलाई प्रतिक्रिया दिएका इन्ग्याजेटले उल्लेख गरेको छ।
क्युबनले इमोजीमार्फत् मस्कको पोस्टको स्वागत गर्दै आफू सेन्टर फर कम्पिटिटिभ डेमोक्रेसीसँग आबद्ध रहेको र मस्कको पार्टीलाई निर्वाचन मतपत्रमा ल्याउन सहयोग गर्नसक्ने बताएका छन् । स्कारामुचीले पनि एक्समा प्रतिक्रिया दिँदै “भेटेर छलफल गर्न चाहन्छु” भनेका छन् ।
स्कारामुची सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालमा ह्वाइट हाउस सञ्चार निर्देशक बनेका थिए तर उनलाई १० दिनमै बर्खास्त गरिएको थियो । त्यसपछि उनी ट्रम्पविरोधी धारमा गए र सन् २०२४ को राष्ट्रपतीय चुनावमा जो बाइडेन र कमला ह्यारिसलाई समर्थन गरेका थिए । उता, क्युबनले पनि अघिल्लो पटक कमला ह्यारिसलाई समर्थन गरेका थिए, र उनलाई सम्भावित उपराष्ट्रपति उम्मेदवारको रूपमा समेत चर्चा गरिएको थियो ।
टेस्ला प्रमुख मस्कले ट्रम्पसँगको तनावपछिको यो प्रस्ताव सार्वजनिक गरे पनि उनले पार्टी दर्ताका लागि आवश्यक आधिकारिक कागजात दर्ता गरेका छन् कि छैनन् भन्ने कुरा अझै प्रस्ट छैन ।
संघीय निर्वाचन आयोगमा केही फाइलिङहरू मस्कको नयाँ पार्टीसँग सम्बन्धित देखिन्छन्, तर ती प्रमाणित नभएको जनाइएको छ।
मस्कको भनाइअनुसार, “अमेरिका पार्टी” को लक्ष्य २ वा ३ सिनेट सिट र ८ देखि १० प्रतिनिधिसभा सिटहरूमा जित हासिल गर्नु हो। तर हालसम्म उक्त योजनाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
प्रकाशित: २३ असार २०८२, सोमबार