पाङ्गु प्रो एलएलएमका लागि अलिबाबाको मोडलबाट केही नक्कल नगरिएको ह्वावेको दावी

  • Technology Khabar | २३ असार २०८२, सोमबार
पाङ्गु प्रो एलएलएमका लागि अलिबाबाको मोडलबाट केही नक्कल नगरिएको ह्वावेको दावी

काठमाडौं ।

ह्वावेको कृत्रिम बुद्धिमत्ता अनुसन्धान विभागले अलिबाबाको मोडेलबाट आफ्नो पाङ्गु प्रो ठूलो भाषा मोडेल (एलएलएम) को कुनै पनि संस्करणले तत्वहरू नक्कल गरेको भन्ने दावी अस्वीकार गरेको छ । ‘उक्त मोडेल स्वतन्त्र रूपमा विकास र प्रशिक्षण गरिएको हो’, विभागले भनेको छ।

शनिबार ह्वावेको नोह आर्क ल्याब नामक विभागले वक्तव्य जारी गर्दै आरोपहरू अस्वीकार गरेको हो । यसअघि शुक्रबार अनेस्टएजीआई नामक इकाइले गिटहबमा अङ्ग्रेजी भाषामा प्रकाशित एउटा पेपरमा ह्वावेको पाङ्गु प्रो मोइ मोडेल अलिबाबाको क्वेन २.५  १४बी मोडेलसँग “असाधारण समानता” देखिएको दावी गरेको थियो ।

उक्त पेपरले ह्वावेको मोडेलले सुरुबाट नै प्रशिक्षण नदिइकन “अपसाइकलिङ” प्रविधिबाट बनाइएको दावी गर्दै यो सम्भावित प्रतिलिपि अधिकार उल्लङ्घन हो भनेर उल्लेख गरेको थियो । पेपरपछि चिनियाँ प्रविधि सञ्चारमाध्यम र अनलाइन एआई समुदायमा व्यापक बहस भएको थियो।

पेपरमा ह्वावेले मोडेल प्रशिक्षणमा गरेको लगानीबारे झूटो दावी गरेको र प्राविधिक प्रतिवेदनहरूमा जानकारीको तोडमोड गरिएको आशंका समेत उल्लेख गरिएको छ ।

नोह आर्क ल्याबले आफ्नो बयानमा ह्वावेको मोडेल अरू निर्माता कम्पनीहरूको मोडेलको इन्क्रिमेन्ट मोडल अर्थात बढाइएको मोडलमा आधारित नभएको बताएको छ ।

उक्त मोडेलको संरचना डिजाइन र प्राविधिक विशेषतामा महत्वपूर्ण नवीनता गरिएको दावी गरिएको छ । साथै, यो ह्वावेका आफ्नै एसेन्ड चिपहरूमा पूर्ण रूपमा निर्माण गरिएको पहिलो ठूलो मोडेल भएको पनि उल्लेख गरिएको छ ।

विकास टोलीले प्रयोग गरिएका कुनै पनि थर्ड पार्टी कोडहरूका लागि ओपन-सोर्स लाइसेन्सको कडाइका साथ पालना गरेको ल्याबले बताएको छ तर कुन कुन ओपन-सोर्स मोडेलहरूबाट सन्दर्भ लिएको हो भन्ने खुलाइएको छैन ।

अलिबाबाले टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया नदिएको रोयटर्सको भनाई छ । रोयटर्सले अनेस्टएजीआईसँग सम्पर्क गर्न नसकेको र उक्त इकाइ पछाडि को छन् भन्ने पत्ता लगाउन नसकेको उल्लेख गरेको छ।

यस वर्षको जनवरीमा चिनियाँ स्टार्टअप डीपसिकले आफ्नो आर१ नामक ओपन-सोर्स मोडेल सार्वजनिक गरेपछि सिलिकन भ्यालीमा कम लागतमा यस्तो मोडेल आएको भन्दै व्यापक प्रतिस्पर्धा सुरु भएको थियो ।

अलिबाबाको क्वेन २.५–१४बी मोडेल मे २०२४ मा सार्वजनिक गरिएको हो, जुन क्वेन २.५ मोडेल परिवारको सानो संस्करण हो र कम्प्युटर वा स्मार्टफोनमा पनि चलाउन सकिन्छ ।

ह्वावेले आफ्नो मूल पाङ्गु मोडेल सन् २०२१ मै ल्याइसकेको भए पनि पछिल्लो समय प्रतिस्पर्धीहरूभन्दा पछि परेको ठानिएको थियो। कम्पनीले जुनको अन्त्यमा पाङ्गु प्रो मोइ मोडेलहरूलाई चिनियाँ विकासकर्ताहरूको प्लेटफर्म गिटकोडमा ओपन-सोर्स गरेर निशुल्क पहुँच दिँदै प्रयोग बढाउने प्रयास गरेको हो ।

क्वेन मोडेल उपभोक्तामुखी छ र च्याटजीपीटीजस्तै च्याटबोट सेवाहरूमा केन्द्रित भए पनि ह्वावेको पाङ्गु मोडेलहरू सरकारी, वित्तीय र उत्पादन क्षेत्रहरूमा बढी प्रयोग हुने गरेको छ ।

प्रकाशित: २३ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...