रुसद्वारा प्रोग्रेस ९२ नामक कार्गो यान अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ प्रक्षेपण

  • Technology Khabar | २० असार २०८२, शुक्रबार
रुसद्वारा प्रोग्रेस ९२ नामक कार्गो यान अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ प्रक्षेपण

काठमाडौं ।

एउटा रूसी कार्गो अन्तरिक्ष यान बिहीबार दिउँसो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ प्रक्षेपण गरिएको छ। यसले कक्षमा रहेका प्रयोगशालाहरूका लागि केही टन सामग्री बोकेको छ।

सोयूज रकेटले अमेरिकाको पूर्वी समय अनुसार दिउँसो ३:३२ बजे (१९:३२ जीएमटी; कजाखस्तानको स्थानीय समय अनुसार जुलाई ४ को बिहान १२:३२ बजे) रूसद्वारा सञ्चालित काजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट उडान भरेको हो। यसले चालकविहीन प्रोग्रेस ९२ कार्गो यानलाई कक्षमा पुर्‍याएको हो।

स्पेस डटकमका अनुसार प्रोग्रेस ९२ ले करिब तीन टन खाना, इन्धन र अन्य सामग्री आईएसएसमा पुर्‍याउँदैछ। सबै योजना अनुसार भएमा यो रोबोटिक यान शनिबार (जुलाई ५) अमेरिकी पूर्वी समय अनुसार साँझ ५:२७ बजे (२१:२७ जीएमटी) स्टेशनको पोइस्क मोड्युलमा डक गर्नेछ।

नासाले शनिबार साँझ ४:४५ बजे (२०:४५ जीएमटी) देखि यो भेटघाट र डकिङ प्रक्रिया  नासा प्लसमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।

प्रोग्रेस ९२ ले अहिले त्यही पोर्टमा रहँदै आएको प्रोग्रेस ९०  को ठाउँ लिनेछ, जुन झन्डै सात महिनाको बसाइपछि जुलाई १ मा पोइस्क मोड्युलबाट अलग गरिएको थियो। अब प्रोग्रेस ९० पृथ्वीको वायुमण्डलमा जलेर नष्ट हुनेछ र यही नियति करिब ६ महिनापछि प्रोग्रेस ९२ को पनि हुनेछ।

प्रकाशित: २० असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...