चलायमान स्याटेलाइट र क्लाउडमा आधारित नियन्त्रण सफ्टवेयर प्रयोग गर्दै अमेरिकी वायुसेना

Technology Khabar १८ असार २०८२, बुधबार

चलायमान स्याटेलाइट र क्लाउडमा आधारित नियन्त्रण सफ्टवेयर प्रयोग गर्दै अमेरिकी वायुसेना
तस्बिर: स्पेसन्युज डटकम

काठमाडौं ।

अमेरिकी स्पेस फोर्स अर्थात् अन्तरिक्ष सेनाले युद्धका क्रममा सजिलै अनुमान गर्न नसकिने गरी अन्तरिक्षमा चलायमान हुन सक्ने नयाँ पुस्ताका सैन्य उपग्रहहरू विकास गर्ने काम अघि बढाएको छ। हालसम्म उपग्रहहरू निश्चित कक्षामा स्थिर राखिने गरिन्थ्यो जसले गर्दा तिनीहरू सजिलै लक्ष्य बन्न सक्थे।

“युद्धका लागि चलायमान क्षमता अत्यन्तै महत्वपूर्ण हुन्छ,” स्पेस फोर्सअन्तर्गत न्यू मेक्सिकोको किर्टल्यान्ड वायुसेनास्थित स्पेस र्यापिड कपाबिलिटिज अफिस (स्पेस आरसीओ) का निर्देशक केली ह्यामेटले बताएका छन्।

स्पेसन्युज डटकमका अनुसार हालै मिट्चेल इन्स्टिच्युटको कार्यक्रममा बोल्दै ह्यामेटले डाइनामिक स्पेस अपरेशन्स अर्थात् गतिशील अन्तरिक्ष कार्यबाहीको योजनाबद्ध खाका प्रस्तुत गरे। यस अवधारणाअन्तर्गत त्यस्ता कक्षीय गतिविधिहरू पर्छन् जुन सामान्य उपग्रहका लागि इन्धन खर्चिलो वा प्राविधिक रूपमा जटिल मानिन्छ।

अहिले अमेरिकी सेना स्थिर बसेर संकेत पठाउने उपग्रह मात्र नभई खतरा देखिएपछि प्रतिक्रिया जनाउन सक्ने उपग्रह चाहन्छ। अमेरिकी स्पेस कमाण्डले सार्वजनिक रूपमा डाइनामिक स्पेस अपरेशन्सको अवधारणा प्रस्तुत गरिसकेको छ भने स्पेस आरसीओ ले यस अवधारणालाई कार्यान्वयन गर्न आवश्यक प्रविधि विकासको काम अघि बढाएको छ।

यी डाइनामिक अपरेशन्सहरू अमेरिकी सेनाले अन्तरिक्षलाई अब एक स्थिर सहयोगी क्षेत्र मात्र नभई चुनौतीपूर्ण क्षेत्रका रूपमा हेर्न थालेको संकेत हो, जहाँ चीन र रूसजस्ता प्रतिस्पर्धीहरूले अमेरिकी उपग्रहहरूलाई पछ्याउने वा असर पार्ने क्षमतायुक्त उपग्रहहरू तैनाथ गरिरहेका छन्।

स्पेस आरसीओले जिओस्टेशनरी अर्थात पृथ्वी घुम्दा पनि स्थिर रहने कक्षमा राखिने प्रयोगात्मक स्याटेलाइट विकास गर्ने योजना बनाएको छ, जसले चलायमान क्षमतासँगै त्यस्ता अपरेशनहरू नियमित रूपमा गर्न आवश्यक सफ्टवेयर र ग्राउन्ड प्रणालीको परीक्षण गर्नेछ। ह्यामेटका अनुसार यी उपग्रहहरू स्पेस आरसीओका “पहिलो पूर्ण क्षमतायुक्त उपग्रहहरू” हुनेछन्, तर ती कहिले प्रक्षेपण हुने हो भन्ने तालिका अझै सार्वजनिक गरिएको छैन।

जिओस्टेशनरी कक्ष पृथ्वीको भूमध्यरेखाबाट करिब २२,००० माइल माथि हुन्छ, जहाँ उपग्रहहरू पृथ्वीको एउटै बिन्दुमाथि स्थिर रहन्छन्। यस कक्षाले निरन्तर निगरानी, क्षेप्यास्त्र चेतावनी र सञ्चारका लागि अनुकूलता दिन्छ, तर यसै कारणले ती उपग्रहहरू सजिलै लक्ष्य बन्न सक्छन्।

“धेरैजसो व्यावसायिक उपग्रहहरू आफ्नो ‘स्लट’ मा बस्छन्,” ह्यामेटले भने, जसको अर्थ तिनीहरूले स्थिर कक्षीय स्थानमा रही अन्य उपग्रहसँग टकराव नहोस् भनेर सजग रहन्छन्। “चलायमान जीईओ स्याटेलाइटहरूको बजार अहिले खासै बनेको छैन,” उनले थपे।

तर नयाँ स्टार्टअप र रक्षा-केन्द्रित एयरोस्पेस कम्पनीहरू यस्तो उपग्रहको सम्भावनामा चासो देखाइरहेका छन्, जसले पुन स्थापित हुन, अपरिचित वस्तुहरूको निरीक्षण गर्न वा अन्तरिक्षमै युद्ध अभ्यासजस्ता कार्य गर्न सकून्। त्यसका लागि स्पेस आरसीओ ले उद्योगहरूलाई “उच्च थ्रस्ट, उच्च डेल्टा-भी” क्षमतायुक्त उपग्रहको जानकारी अनुरोध पठाएको छ।

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया