मेटाको एआईसम्बन्धी सबै काम अब ‘सुपरइन्टेलिजन्स ल्याब्स’ अन्तर्गत रहने

  • Technology Khabar | १८ असार २०८२, बुधबार
मेटाको एआईसम्बन्धी सबै काम अब ‘सुपरइन्टेलिजन्स ल्याब्स’ अन्तर्गत रहने

काठमाडौं ।

मेटाले आफ्ना कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कामहरूलाई पुनर्संरचना गर्दै ‘सुपरइन्टेलिजन्स ल्याब्स’ नामक नयाँ इकाइ अन्तर्गत ल्याएको छ। मेटा का प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कम्पनीको एआई प्रयासलाई अब सुपरइन्टेलिजेन्स निर्माणमा केन्द्रित गर्ने रणनीति बनाएका हुन्।

ब्लूमबर्गको रिपोर्ट अनुसार कम्पनीभित्र सोमबार पठाइएको आन्तरिक मेमोमा अब मेटाका सबै एआई टिमहरू नयाँ समूहतर्फ सर्ने उल्लेख गरिएको छ जसको नाम ‘मेटा सुपरइन्टेलिजन्स ल्याब्स’ हुनेछ।

टेकक्रञ्चका अनुसार स्केल एआई नामक डाटा लेबेलिङ स्टार्टअपका पूर्व सीईओ अलेक्जान्द्र वाङ्ग यस समूहको प्रमुख एआई अधिकारीका रूपमा नेतृत्व गर्नेछन्। उनले गिटहबका पूर्व सीईओ नेट फ्रिडम्यानसँग सहकार्य गर्नेछन् जसले मेटाका एआई उत्पादन र प्रयोगात्मक अनुसन्धानको नेतृत्व गर्नेछन्।

जुकरबर्गले हालका महिनाहरूमा कृत्रिम सामान्य बुद्धिमत्ता (एजीआई) दौडमा अघि बढ्नका लागि शीर्ष एआई कम्पनीहरूबाट कर्मचारी ल्याउने र कम्पनी किन्नेजस्ता रणनीति अपनाउँदै आएका छन्। यसै महिनाको सुरुमा, मेटाले स्केल एआईमा १४.३ अर्ब डलर लगानी गरेको थियो त्यसँगै वाङ्ग पनि मेटामा आएका हुन्।

रिपोर्टअनुसार जुकरबर्गले प्रतिस्पर्धी कम्पनीहरूबाट ११ जना नयाँ एआई अनुसन्धानकर्ताहरू पनि मेटामा ल्याएका छन्। यीमध्ये केहीको नाम पहिले सार्वजनिक गरिएको थिएन।

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...