
काठमाडौं ।
ब्लू ओरिजिनले आइतबार आफ्नो १३औं मानवयुक्त अन्तरिक्ष उडानमार्फत ७५०औं यात्रुलाई अन्तरिक्षमा पठाएको छ। कम्पनीको न्यु शेपर्ड सबअर्बिटल प्रक्षेपण यान बिहान ९:३९ बजे सीडीटी (बिहान १०:३९ ईडीटी, १४:३९ जीएमटी) मा अमेरिकाको पश्चिम टेक्सासस्थित ‘लन्च साइट वान’ बाट प्रक्षेपण गरिएको थियो।
उडानमा सहभागी यात्रुहरूमा दम्पती एली र कार्ल कुइनर, लेल्यान्ड लार्सन, फ्रेडी रिसेग्नो जुनियर, ओवोलाबी सालिस र जेम्स सिटकिन रहेका थिए।
कार्ल कुइनर ब्लू ओरिजिनको ७०औं अन्तरिक्ष यात्री बने, जुन उनको क्याप्सुलभित्रको सीटअनुसार निर्धारण गरिएको थियो। साथै, उनी एसोसिएसन अफ स्पेस एक्सप्लोरर्सको दर्ता अनुसार, अन्तरिक्ष पुग्ने ७५०औं व्यक्ति बने।
स्पेस डटकमका अनुसार एनएस-३३ नाम दिइएको यो १० मिनेटको मिसन कम्पनीको कुल ३३औं न्यु शेपर्ड उडान हो। मिसन योजना अनुसार सम्पन्न भयो। टेल–५ नामको प्रोपल्सन मोड्युल सुरक्षित रूपमा ठाडो अवतरण गर्यो र आरएसएस कार्मान लाइन नामक क्रु क्याप्सुलले यात्रुहरूलाई प्याराशूट र एयर थ्रस्टरको सहायताले नरम अवतरण गराउँदै सुरक्षापूर्वक पृथ्वीमा फर्कायो।
सबै यात्रुहरूले करिब तीन मिनेट तौलहीनता अनुभव गरे र अन्तरिक्षबाट पृथ्वीको वक्रता तथा कालो आकाशको दृश्य अवलोकन गरे। क्याप्सुलले ३,४५,०४४ फिट (१०५.२ किमी) उचाइमा पुगेर अन्तरिक्षको अन्तर्राष्ट्रिय सिमाना अर्थात् कर्मन रेखा पार गर्यो।
यस उडानमा यात्रुहरूसँगै १,००० भन्दा बढी भौतिक तथा डिजिटल पोस्टकार्डहरू पनि लगेका थिए, जुन छात्रछात्राहरू र सर्वसाधारणले डिजाईन गरेका थिए। ती कार्डहरू सिएटलस्थित द म्युजियम अफ फ्लाइट र क्यानडाको बर्नबीस्थित पार्कक्रेस्ट प्राथमिक विद्यालयमार्फत सङ्कलन गरिएको थियो।
यी सामग्रीहरू ब्लू ओरिजिनको गैरनाफामूलक संस्था ‘क्लब फर ल फ्युचर’ द्वारा सञ्चालित शैक्षिक परियोजनाको हिस्सा हुन्।
प्रकाशित: १६ असार २०८२, सोमबार