क्यानडाद्वारा अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै ल्याएको डिजिटल सेवा कर रद्द
काठमाडौं ।
क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै ल्याएको डिजिटल सेवा कर आइतबार अबेर राति लागू हुनुभन्दा केही घण्टाअघि नै रद्द गरेको छ। यो कदम अमेरिकासँग रोकिएको व्यापार वार्तालाई अगाडि बढाउने प्रयासस्वरूप उठाइएको हो।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता जुलाई २१ भित्र टुंग्याउने उद्देश्यसहित वार्ता पुनः सुरु गर्ने क्यानडाको वित्त मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।
रोयटर्सका अनुसार शुक्रबार राष्ट्रपति ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर लगाइएको करलाई “खुला हमला” भन्दै व्यापार वार्ता अचानक रोकिदिएका थिए। आइतबार उनले पुनः त्यसै कुरा दोहोर्याउँदै अर्को हप्ताभित्र क्यानडाली सामानहरूमा नयाँ कर दर तोक्ने प्रतिबद्धता जनाए जसले दुई देशबीचको सम्बन्ध फेरि अराजकतातिर फर्कने खतरा निम्त्याएको छ।
यो वार्ता मध्य जुनमा जी७ सम्मेलनमा दुवै नेताबीच भेट भएपछि विफल भएको हो जहाँ उनीहरूले ३० दिनभित्र नयाँ आर्थिक सम्झौता टुंग्याउने सहमति जनाएका थिए।
क्यानडाले प्रस्ताव गरेको डिजिटल कर क्यानाडाली प्रयोगकर्ताबाट प्राप्त वार्षिक २ करोड डलरभन्दा माथिको डिजिटल सेवा आम्दानीमा ३ प्रतिशत लगाउने थियो, र यसले २०२२ देखि नै पुनःलागू हुने गरी व्यवस्था गरिन लागेको थियो।
यस करको प्रभाव अमेजन, मेटा, अल्फाबेटको गुगल र एप्पलजस्ता अमेरिकी प्रविधि कम्पनीहरूमा पर्ने थियो।