अब ईयूमा एप्पल डेभलपरहरुले वैकल्पिक भुक्तानी लिंक प्रयोग गर्न पाउने, नीति फेर्दै कम्पनी

Technology Khabar १४ असार २०८२, शनिबार

काठमाडौं ।

एप्पलले युरोपेली संघको डिजिटल मार्केट्स एक्ट (डीएमए) पालना गर्न बिहीबार आफ्नो डेभलपर नीतिहरूमा विभिन्न परिवर्तनको घोषणा गरेको छ। यो घोषणा अपेक्षित रूपमा जुन २६ को समयसीमाअघि आएको हो, जुन मितिपछि एप्पलले नयाँ जरिवाना भोग्न सक्ने सम्भावना थियो। परिवर्तनहरूमा डेभलपरले ग्राहकसँग कसरी सम्पर्क गर्न पाउने र एप्पलले लिने शुल्कसम्बन्धी नियमहरू सामेल छन्।

यसअघि डीएमए  नमान्दा एप्पललाई युरोपेली नियामकले ५० करोड यूरो जरिवाना गरिसकेको थियो, र थप कारबाहीको चेतावनी दिइएपछि एप्पल नियम परिवर्तन गर्न बाध्य भएको हो।

टेकक्रञ्चका अनुसार अब एप्पलको नयाँ “एण्टी-स्टियरिङ” नियम अनुसार ईयूका एप डेभलपरहरूले एप स्टोरबाहेक अन्य माध्यमबाट पनि ग्राहकलाई सदस्यता तथा अन्य इन-अप खरिदका वैकल्पिक भुक्तानी तरिकाहरूको लिंक दिन पाउनेछन्।

यी लिंकहरू वेबसाइट, वैकल्पिक एप मार्केटप्लेस, वा अन्य एपमार्फत सेयर गर्न सकिन्छ। यस्ता लिंकहरू एपभित्र वेबभ्यू वा नेटिभ अनुभवमार्फत पनि उपलब्ध हुन सक्छन्, र एप्पलले पहिलेजस्तो चेतावनी स्क्रिन वा आफ्नै भाषाशैली अनिवार्य गरेको छैन।

तर ‘कोर टेक्नोलोजी फी’ (सीटीएफ) हटाउने सट्टा एप्पलले अझ जटिल शुल्क संरचना ल्याएको छ। अब एउटा प्रारम्भिक ‘एक्विजिसन फी’ (२ प्रतिशत) र ‘स्टोर सर्भिस फी’ लाग्नेछ। स्टोर सर्भिस फी १३ प्रतिशत वा ५ प्रतिशत हुन सक्नेछ, जुन डेभलपरले रोजेको टियरमा निर्भर गर्नेछ। स्मल बिजनेस कार्यक्रमका सदस्यले भने १० प्रतिशत शुल्क तिर्नुपर्नेछ।

टियर १ डेभलपरहरूले एप समीक्षा, म्यानुअल अपडेट, र एन्टिफ्रड जस्ता सीमित सेवा पाउनेछन्। टियर २ मा मार्केटिङ उपकरण, अटोमेटिक अपडेट, एप क्युरेसन, पर्सनलाइजेसन, र एप इन्साइट्स जस्ता सेवा उपलब्ध हुनेछन्।

यदि कुनै एपले ईयूको नयाँ नीति अनुरुप वैकल्पिक भुक्तानी प्रणाली प्रयोग गर्न चाहेमा त्यसमा ‘कोर टेक्नोलोजी कमिसन अर्थात् (सीटीसी)’ लाग्नेछ — जुन अन्ततः सीटीएफको सट्टा लागू गरिने नयाँ शुल्क भएको जनाइएको छ।

अहिलेसम्म डेभलपरहरूले १० लाख डाउनलोड नाघेपछि प्रति इन्स्टल ०.५० यूरो तिर्नुपर्थ्यो। यो नियम अझै वैकल्पिक ईयू व्यवसायिक सर्तहरूमा कायम रहनेछ। तर स्ट्यान्डर्ड सर्तमा काम गर्ने डेभलपरहरूका लागि अब नयाँ ५ प्रतिशत सीटीसी लाग्नेछ। अहिले सीटीएफ तिरेका डेभलपरहरू जनवरी १, २०२६ देखि नयाँ नियममा रूपान्तरण हुनेछन्।

एप्पलले भन्यो, “ सीटीसीले डेभलपरहरूलाई प्रदान गरिएका उपकरण, प्रविधि र सेवाहरूमा गरिएको लगानीको मूल्य झल्काउँछ, जसले उनीहरूलाई इनोभेटिभ एपहरू विकास गर्न र प्रयोगकर्तासँग बाँड्न सक्षम बनाउँछ।”

तर एपिक गेम्सका सीईओ टिम स्वीनीले एक्समा प्रतिक्रिया दिँदै यसलाई “एप्पलको खराब नियतसहितको नियम पालन” भनेका छन्।

उनले लेखे, “एप्पलको डीएमए पालना नामक यो योजना युरोप र अमेरिकामा स्पष्ट रूपमा अवैध छ, र डिजिटल बजारमा निष्पक्ष प्रतिस्पर्धाको उपहास बनाएको छ। वैकल्पिक भुक्तानी प्रयोग गर्ने एपहरूलाई कर त लाग्नेछ, तर उनीहरूलाई एप स्टोरमै व्यावसायिक रूपमा कमजोर बनाइनेछ।”

प्रकाशित: १४ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया