Technology Khabar १४ असार २०८२, शनिबार
काठमाडौं ।
सिटी किलर अर्थात् सहर विनाशक भनेर कुख्याती कमाएको क्षुद्रग्रह २०२४ वाईआर४ यदि सात वर्षपछि चन्द्रमामा ठोक्किएको खण्डमा त्यसले पृथ्वीमा “गोलिको जस्तो” अनगिन्ति छर्रा वर्षा गराउन सक्ने नयाँ सिमुलेसनहरूले देखाएका छन्।
यसरी छर्रा आउँदा आकर्षक उल्का वर्षा जसत् देखिने भए पनि पृथ्वीको कक्षमा रहेका स्याटेलाइटहरूलाई पनि खतरा पनि पुर्याउन सक्ने देखिएको छ।
२०२४ वाइआर४ करिब ६० मिटर (२०० फिट) चौडाइ भएको सम्भावित खतरनाक एस्ट्रोइड हो, जुन पृथ्वीमा ठोक्किएमा ठूलो सहर नष्ट गर्न सक्ने क्षमतायुक्त छ। यो पहिलोपटक सन् २०२४ को डिसेम्बरमा पत्ता लागेको थियो, तर यस वर्षको सुरुमा वैज्ञानिकहरूले २०३२ डिसेम्बर २२ मा पृथ्वीमा ठोक्किन सक्ने सम्भावना औंल्याएपछि यसले व्यापक ध्यान खिच्यो।
फेब्रुअरीमा यो सम्भावना ३.१ प्रतिशतसम्म पुगेपछि नासाले यसमा गहिरो अध्ययन थालेको थियो। तर पछि गरिएको विश्लेषणबाट पृथ्वीमा ठोक्किने कुनै सम्भावना नरहेको पुष्टि भएको छ।
तर अप्रिलमा वैज्ञानिकहरूले पत्ता लगाए कि पृथ्वी अब सुरक्षित भए पनि यो एस्ट्रोइड चन्द्रमामा ठोक्किन सक्ने सम्भावना भने बाँकी छ। यो सम्भावना बिस्तारै बढिरहेको छ र हालै मात्र यो ४.३ प्रतिशतमा पुगेको छ। सन् २०२८ मा यो एस्ट्रोइड पृथ्वीको नजिक पुग्दा यसको वास्तविक सम्भावना स्पष्ट हुने विज्ञहरूले बताएका छन्।
चन्द्रमामा ठोक्किने सम्भावना ३.८ प्रतिशतबाट ४.३ प्रतिशतमा पुगेको १६ जुनभन्दा अगाडि तयार पारिएको सिमुलेसनहरू अनुसार यदि यो चन्द्रमामा ठोक्कियो भने यसले पृथ्वीमा उल्का वर्षा गराउन सक्छ भन्ने देखाएका हुन्। यो पूर्णरुपमा निश्चित पनि छैन र अध्ययन अझै वैज्ञानिक समीक्षा प्रक्रियामा गएको छैन।
यदि यसो भइहालेमा भने पृथ्वीको सतहमाथि रहेका मानिसलाई यी टुक्राबाट कुनै खतरा नहुने विज्ञहरूले बताएका छन्। बरु, चन्द्रमाबाट छुट्टिएका टुक्राहरू पृथ्वीको वायुमण्डलमा छिर्दा जल्ने हुँदा विश्वभरका मानिसहरूले केही दिनसम्म “आकर्षक” उल्का वर्षा हेर्न सक्नेछन्।
तर जमिनमा हामी सुरक्षित भए पनि पृथ्वीको कक्षामा रहेका स्याटेलाइटहरू भने जोखिममा पर्न सक्छन्। चन्द्रमाबाट छुट्टिएका टुक्रा पृथ्वी नजिक आइपुग्ने सम्भावनाले हाम्रो उपग्रहहरूमा ठोक्किने जोखिम करिब १,००० गुणा बढ्ने विज्ञहरूको भनाइ छ। सन् २०३२ सम्ममा पृथ्वी वरिपरि परिक्रमा गर्ने यानहरूको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको लाइभसाइन्सले उल्लेख गरेको छ।
“केही सेन्टिमिटर मात्रको ढुङ्गा हजारौं मिटर प्रतिसेकेन्डको गतिमा चलेमा त्यो गोलीसरह हुन्छ,” वैज्ञानिक वाइगर्टले बताएका छन्। यस्ता वस्तुले सजिलैसँग कुनै उपग्रह नष्ट गर्न सक्छ वा मानव बसोबास भएको अन्तरिक्ष स्टेशनहरूमा गम्भीर क्षति पुर्याउन सक्छ, जस्तै चीनको टियाङगोङ स्टेशन। (इन्टरनेसनल स्पेस स्टेशन भने सन् २०३० मा बन्द हुने तालिका छ।)
यदि चन्द्रमामा ठोक्किने सम्भावना अझ बढ्दै गयो भने पृथ्वीको अन्तरिक्ष संरचना सुरक्षित रहोस् भन्नका लागि सरकारी निकायहरूले एस्ट्रोइडको दिशा परिवर्तन गर्न प्रयास गर्ने निर्णय लिन सक्छन्। वाइगर्टका अनुसार, २०२४ वाइआर४ यस्तो रक्षा परीक्षणको लागि “राम्रो लक्ष्य” बन्न सक्छ। “यो निश्चित रूपमा विचार गरिनेछ,” उनले भनेका छन्।
यसअघि सन् २०२२ मा नासाले डीएआरटी प्रोग्राम अन्तर्गत डिमोर्फोस नामक एस्ट्रोइडको मार्ग परिवर्तन गरेर यस्तो क्षमता देखाइसकेको थियो। २०२४ वाइआर४ डिमोर्फोसको झन्डै आधा साइजको मात्रै हो।
तर यदि धेरै ढिलो गरियो भने एस्ट्रोइडको मार्ग परिवर्तन गर्दा उल्टै खतरनाक बन्न सक्ने र त्यसले पृथ्वीमै ठोक्किने अवस्था सिर्जना गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
केही विशेषज्ञहरूले ट्रम्प प्रशासनले प्रस्ताव गरेको नासाको बजेट कटौतीले भविष्यमा यस्ता खतरनाक एस्ट्रोइडहरू ट्र्याक गर्न कठिन बनाउने चिन्ता पनि व्यक्त गरेका छन्।
प्रकाशित: १४ असार २०८२, शनिबार