Technology Khabar ९ असार २०८२, सोमबार
काठमाडौं ।
अर्बपति जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले ६ जना व्यक्तिलाई उपकक्षीय अन्तरिक्षमा पठाउने योजना मौसमका कारण प्रक्षेपण पुनः स्थगित गरिएको छ।
एनएस-३३ भनेर चिनिने यो मिशन ब्लू ओरिजिनको न्यु शेपर्ड यानको ३३औँ उडान हो। यो मिसन शनिबार (जुन २१) बिहान पश्चिम टेक्सासस्थित प्रक्षेपण स्थलबाट प्रक्षेपण हुने तय गरिएको थियो। तर तीव्र हावाका कारण प्रक्षेपण रद्द गर्नुपर्यो।
त्यसपछि उडान आइतबार बिहान ८:३० (ईडीटी) मा गर्ने नयाँ समय तय गरिएको थियो (१२:३० जीएमटी; टेक्सास स्थानीय समय अनुसार ७:३० बिहान)। तर मौसमले फेरि पनि साथ दिएन।
ब्लू ओरिजिनले सामाजिक सञ्जालमार्फत दिएको अपडेटमा भनिएको छ, “आजको एनएस-३३ प्रक्षेपण मौसमका कारण रद्द गरिएको छ। हामी अर्को सम्भावित प्रक्षेपण समयको मूल्याङ्कन गरिरहेका छौं।”
न्यु शेपर्ड एक स्वचालित, पूर्ण रूपमा पुन: प्रयोग गर्न मिल्ने यान हो, जसमा पहिलो चरणको बूस्टर र एक क्रू क्याप्सुल समावेश हुन्छ। यसको उडान लिफ्टअफबाट क्याप्सुलको अवतरणसम्म १० देखि १२ मिनेटसम्म हुन्छ। यात्रुहरूले केही मिनेटको लागि गुरुत्वहीनता अनुभव गर्न पाउँछन् र कालो अन्तरिक्षको पृष्ठभूमिमा पृथ्वीलाई हेर्न सक्छन्।
एनएस-३३ मिशनमा जाने यात्रुहरूमा संरक्षण र अन्वेषणप्रति रुचि राख्ने पति‑पत्नी एल्ली र कार्ल कुइनर, परोपकारी र मौरीपालक लेल्यान्ड लार्सन, उद्यमी फ्रेड्डी रेसिग्नो जुनियर, वकिल तथा लेखक ओवोलाबी सालिस, र अवकाशप्राप्त वकिल जिम सिटकिन समावेश छन्।
प्रकाशित: ९ असार २०८२, सोमबार