Technology Khabar ४ असार २०८२, बुधबार
काठमाडौं ।
स्पेसएक्सले आज बुधबार बिहान फ्लोरिडाबाट प्रक्षेपण गरेको फाल्कन ९ रकेटले सफलतापूर्वक २८ वटा नयाँ स्टारलिंक इन्टरनेट उपग्रहहरूलाई पृथ्वीको तल्लो कक्षमा पुर्याएको छ।
यो प्रक्षेपण केप क्यानाभेरल स्पेस फोर्स स्टेसनको स्पेस लन्च कम्प्लेक्स ४० बाट स्थानीय समय अनुसार बिहान १:५५ बजे (०५:५५ जीएमटी र नेपाली समय अनुसार बिहान ११:४०) सम्पन्न भयो। “ग्रुप १०-१८” का ती २८ उपग्रहहरू प्रक्षेपणपछि करिब एक घण्टामा कक्षामा स्थापित हुने तालिकामा रहेको स्पेस डटकमले उल्लेख गरेको छ।
उडानको आठौँ मिनेटमा नै फाल्कन ९ रकेटको पहिलो चरण “जस्ट रिड द इन्स्ट्रक्शन्स” नामक ड्रोनसिपमा सुरक्षित अवतरण गर्यो। यो चरणले बूस्टर बी१०९० को पाँचौँ पटक अन्तरिक्ष यात्रा सफलतापूर्वक सम्पन्न गरेको संकेत गर्छ।
बुधबारको यो प्रक्षेपण स्पेसएक्सले सोमबार (जुन १६) क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स स्टेसनबाट २६ वटा स्टारलिंक उपग्रह प्रक्षेपण गरेको दुई दिनपछि भएको हो। यससँगै अब स्पेसएक्सका ७,७७७ भन्दा बढी सक्रिय इन्टरनेट उपग्रहहरू पृथ्वीको कक्षामा घुमिरहेका छन्।
स्पेसएक्सले हाल १२,००० वटा स्टारलिंक उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेको छ, तर योजना अनुसार, आवश्यक स्वीकृति पाएमा, यस मेगाकन्ष्टेलेसनलाई ३४,००० भन्दा बढी उपग्रहसम्म विस्तार गर्न खोजिरहेको छ।
प्रकाशित: ४ असार २०८२, बुधबार