Technology Khabar ४ असार २०८२, बुधबार
काठमाडौं ।
जेम्स वेब अन्तरिक्ष दूरबीन (जेडब्लूएसटी) ले सम्भावित खतरनाक क्षुद्रग्रह २०२४ वाईआर४ को अन्तिम अवलोकन गरिसकेको छ। उसका अनुसार कम्तीमा यो अन्तरिक्ष चट्टान सन् २०२८ यता पृथ्वी नजिक फेरि आउँदैन।
पछिल्ला अवलोकनहरूका अनुसार पृथ्वीमा यस क्षुद्रग्रहको कुनै ठोक्किने खतरा निकट भविष्यमा छैन तर चन्द्रमामा भने जोखिम केही देखिएको छ।
मे महिनामा जेडब्लूएसटीको नियर-इन्फ्रारेड क्यामेराले लिएको डाटा प्रयोग गर्दै वैज्ञानिकहरूले क्षुद्रग्रहको मार्ग अझै उच्च सटीकताका साथ गणना गरेका छन्।
नासाको वक्तव्य अनुसार अब २०२४ वाईआर४ले २०३२ डिसेम्बर २२ मा चन्द्रमासँग ठोक्किने सम्भावना ४.३ प्रतिशत रहेको अनुमान गरिएको छ जुन मार्चमा लिइएको प्रारम्भिक तस्वीरपछि अनुमान गरिएको ३.८ प्रतिशत सम्भावनाभन्दा बढी हो।
“नयाँ डाटा आउँदै जाँदा ठोक्किने सम्भावनामा परिवर्तन हुनु सामान्य हो,” नासाले आफ्नो वक्तव्यमा लेखेको छ। “जब यो क्षुद्रग्रह सन् २०२८ मा फेरि पृथ्वी नजिक आउँछ, तब थप अवलोकन गरिने अपेक्षा गरिएको छ।”
लाइभसाइन्सका अनुसार २०२४ वाईआर४नामको यो क्षुद्रग्रह भवनजत्रो आकारको छ — यसको व्यास १७४ देखि २२० फिट (५३ देखि ६७ मिटर) सम्मको अनुमान गरिएको छ, जुन पिसाको टावरको उचाइसँग मिल्दोजुल्दो छ। यदि यस्तै आकारको क्षुद्रग्रह पृथ्वीमा ठोक्कियो भने, यसले ५०० वटा हिरोशिमा बम बराबरको उर्जा उत्पन्न गरेर एउटा सहर पूर्ण रूपमा नष्ट गर्न सक्छ। (फेरि भन्नुपर्दा, पृथ्वीमा ठोक्किने कुनै खतरा अहिले देखिएको छैन।)
यो क्षुद्रग्रह पहिलो पटक डिसेम्बर २०२४ मा पत्ता लाग्यो र त्यतिबेला खगोलशास्त्रीहरूले यसको सूर्यको वरिपरि घुम्ने कक्षले नियमित रूपमा पृथ्वीको कक्षालाई काट्ने थाहा पाए। प्रारम्भिक अनुमानमा यसको २०३२ मा पृथ्वीमा ठोक्किने सम्भावना ३.१ प्रतिशत पुगेको थियो।
जेडब्लूएसटी र जमिनबाट गरिएको थप अवलोकनहरूले त्यसपछि क्षुद्रग्रहको कक्षा अझै स्पष्ट पारे र पृथ्वीमा ठोक्किने सम्भावना शून्यमा झर्यो।
तर चन्द्रमामा ठोक्किने सम्भावना भने बिस्तारै बढिरहेको छ। यस्तो चट्टान चन्द्रमासँग ठोक्किएमा नयाँ क्रेटर (खाल्डो) त बन्नेछ तर विशेष गरेर ज्ञात क्षुद्रग्रहद्वारा बनाइएको चन्द्र खाल्डो पहिलो पटक प्रत्यक्ष अध्ययन गर्न सकिने अवसरका रूपमा चन्द्रमाको अस्तित्वमा कुनै ठूलो असर पर्ने छैन। वैज्ञानिकहरू यसलाई एउटा उपयोगी अभ्यासका रूपमा हेरिरहेका छन्।
“यो चन्द्रमासँग ठोक्कियोस् भन्ने हामी चाहन्छौं,” बेलायतको क्विन्स युनिभर्सिटी बेलफास्टका भौतिकशास्त्र र गणितका प्राध्यापक एलन फिट्जसिमन्सले मार्चमा न्यु साइण्टिस्टलाई भनेका थिए। “यसले पृथ्वीमा कुनै असर पार्ने छैन, तर पहिलो पटक हामीले चिनिएको क्षुद्रग्रहले चन्द्रमामा बनाएको खाल्डो अध्ययन गर्ने मौका पाउनेछौं।”
अहिले क्षुद्रग्रह सौर्यमण्डलको बाहिरी भागतिर बढिरहेको छ र पृथ्वीबाट देखिँदैन। जेडब्लूएसटी ले आपतकालीन अवलोकन समय प्रयोग गरेर अप्रिल र मेमा गरी यसलाई दुईपटक अवलोकन गरेको हो। २०२८ मा यो पृथ्वी र चन्द्रमाको नजिक फेरि आउँदा जेडब्लूएसटीलाई फेरि प्रयोग गरिनेछ कि छैन भन्ने नासाले हालसम्म पुष्टि गरेको छैन।
प्रकाशित: ४ असार २०८२, बुधबार