
काठमाडौं ।
नेपालमा पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकममा बढोत्तरी हुँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ वैशाख महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार र रकम थोरै मात्र भए पनि उकालो लाग्ने प्रवृत्तिले निरन्तरता पाएको हो।
आर्थिक वर्ष ८१ को माघबाट फागुनमा जाँदा सङ्ख्या १९ हजार ३१९ बढेर ४ लाख १० हजार ७२४ मा पुगेकोमा फागुनबाट चैतमा जाँदा पनि कारोबार सङ्ख्यामा २४ हजार ८९५ बढेर ४ लाख ३५ हजार ६१९ पुगेको थियो। हाल २०८१ चैत्रबाट २०८२ वैशाखमा पुग्दा सङ्ख्यामा २० हजार ७३१ ले वृद्धि भई समग्रमा ४ लाख ५६ हजार ३५० पुगेको छ।
कारोबार रकमका हिसाबले हेर्दा माघबाट फागुनमा पुग्दा झिनो अर्थात् १ करोड रुपैयाँले बढेकोमा फागुनबाट चैतमा पुग्दा १ अर्ब ८ करोड ५० लाख रुपैयाँले बढेको थियो। हाल २०८१ चैतबाट २०८२ वैशाखसम्म पुग्दा पनि कारोबार रकम १ अर्ब ३१ करोडले बढेर समग्रमा २० अर्ब ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ।
यस अर्थमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम पछिल्ला तीन महिनामा निरन्तर बढेको हो।
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार