एपस्टोर शुल्कबारेको आदेश रोकिदिन एप्पलले गरेको याचना खारेज

Technology Khabar २४ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

एउटा अमेरिकी अदालतले एउटा महत्वपूर्ण मुद्दामा एप्पललाई यस्तो आदेश कार्यान्वयन गर्नुपर्ने निर्णय सुनाएको छ जसअनुसार अब एप्पलले एप्सभित्र रहेका लिङ्कमार्फत् प्रयोगकर्ताहरूलाई एप स्टोरबाहिर लाने र त्यहाँ भएका भुक्तानीहरूमा डेभलपरसँग शुल्क लिन पाउनेछैन।

यसको अर्थ, अब अमेरिका भित्र एप्पलले एप भित्रको लिङ्कबाट बाह्य वेबसाइटमा गएर गरिने किनमेलमा डेभलपरहरूसँग कुनै शुल्क लिन पाउने छैन, जसले कम्पनीको आम्दानीमा सम्भावित गिरावट ल्याउन सक्छ।

“एप्पलको परिस्थिति यस्तो छ कि हामीले निर्णय स्थगित गर्नुपर्छ भनेर प्रमाणित गर्नुपर्ने थियो,” अदालतको आदेशमा भनिएको छ। “सम्बन्धित पक्षहरूको तर्कहरूको मूल्याङ्कन गर्दा, हामी निर्णय रोक्नु उपयुक्त हुन्छ भन्नेमा विश्वस्त हुन सकेनौं,” अदालतले स्पष्ट पारेको छ।

एपिक गेम्सका प्रमुख टिम स्विनीले अदालतको निर्णयलाई स्वागत गर्दै एक्समा लेखे, “एप्पल करको लामो राष्ट्रिय दुःस्वप्न अन्त्य भएको छ।”
अप्रिलमा न्यायाधीश योभन गोन्जालेज रोजर्सले एपिक गेम्सको पक्षमा फैसला गर्दै २०२१ को पूर्वनिर्देशना उल्लंघन गरेको एप्पल “जानाजान दोषी” भएको ठहर गरेकी थिइन्।

त्यस आदेशअनुसार, एप्पलले प्रतिस्पर्धी मूल्य नलगाउन र डेभलपरहरूलाई आफ्नै वेबसाइटमार्फत डिजिटल सामग्री बिक्री गर्न अनुमति दिनुपर्ने भनिएको थियो।

जवाफस्वरूप, एप्पलले गत महिना आपतकालीन निवेदन दायर गर्दै अदालतको निर्णय स्थगनको माग गरेको थियो। सोही समयमा कम्पनीले उक्त फैसलाविरुद्ध अपील पनि दर्ता गरेको थियो।

गत वर्ष एप्पलले केही एप्लिकेसनहरूलाई बाह्य भुक्तानी प्रणाली प्रयोग गर्न अनुमति दिएको थियो, तर त्यहाँ पनि २७ प्रतिशत शुल्क लिने र आलोचकहरूले “डरलाग्दो सूचना स्क्रीन” भनिने चेतावनीहरू देखाइरहेको थियो। नयाँ आदेशअनुसार, यी दुवै अभ्यास अन्त्य हुने टेकक्रञ्चले उल्लेख गरेको छ।

ठूला कम्पनीहरूले आफ्नो एपमा परिवर्तन गर्न थालिसकेका छन्। स्पोटिफाइ र अमेजनले आफ्नो एप अपडेट गर्दै प्रयोगकर्ताहरूलाई एप स्टोरबाहिरै गएर सदस्यता र खरिद गर्न सक्ने व्यवस्था गरेका छन्।

आगामी हप्ता हुने वर्ल्डवाइड डेभलपर कन्फरेन्सको पूर्वसन्ध्यामा यो निर्णय एप्पलका लागि ठूलो झट्का मानिएको छ। यसै हप्ता एप्पलले २०२४ मा १.३ ट्रिलियन डलरको बिलिङ र बिक्री भएको रिपोर्ट प्रकाशित गरेको थियो, जसको ९० प्रतिशतले कम्पनीका लागि कुनै कमिशन आम्दानी उत्पन्न गरेको थिएन।

प्रकाशित: २४ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया