न्यूयोर्क टाइम्सको प्रतिलिपि अधिकार मुद्दामा ओपनएआईद्वारा डाटा सुरक्षा आदेशको माग

Technology Khabar २४ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

ओपनएआईले एउटा प्रतिलिपि अधिकारसम्बन्धी मुद्दामा अदालतको आदेशविरुद्ध अपील गर्दैछ, जसअन्तर्गत कम्पनीलाई च्याटजीपीटीको सबै उत्पादन डाटा अनिश्चितकालका लागि सुरक्षित राख्नुपर्ने भनिएको छ। न्यूयोर्क टाइम्सले डाटा सुरक्षित राख्न माग गरेपछि अदालतले गत महिना उक्त आदेश दिएको रोयटर्सले उल्लेख गरेको छ।

ओपनएआईले भने यो आदेश प्रयोगकर्तासँग गरिएका गोपनीयता सम्बन्धी प्रतिबद्धतासँग मेल नखाने भन्दै आपत्ति जनाएको छ।

“हामी प्रयोगकर्ताको गोपनीयता प्रभावित गर्ने कुनै पनि मागको विरोध गर्छौं; यो हाम्रो मूल सिद्धान्त हो,” ओपनएआई का सीईओ स्याम अल्टम्यानले बिहीबार एक्समा लेखेका छन्।

“हामीलाई लाग्छ टाइम्सको माग अनुपयुक्त छ र यसले नराम्रो उदाहरण स्थापित गर्छ,” उनले थप लेखे।

अमेरिकी जिल्ला न्यायाधीश सिड्नी स्टाइनसँग उक्त आदेश खारेज गर्न माग गर्दै जुन ३ मा निवेदन दर्ता गरिएको अदालत अभिलेखमा देखिएको छ। न्यूयोर्क टाइम्सले यसबारे नियमित कार्यसमय बाहिर टिप्पणी नगरेको जनाइएको छ।

समाचारपत्रले २०२३ मा ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा ती कम्पनीहरूले लाखौँ लेखहरू अनुमति बिना प्रयोग गरी लोकप्रिय च्याटबोटको भाषा मोडल प्रशिक्षित गरेको आरोप लगाइएको छ।

न्यायाधीश स्टाइनले अप्रिलमा जारी गरेको अदालतको धारणा अनुसार टाइम्सले ओपनएआई र माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई आफ्ना प्रतिलिपि अधिकार उल्लंघन गराउने काममा उक्साएको प्रमाण पेश गरेको छ।

उक्त धारणा ओपनएआई र माइक्रोसफ्टको मुद्दा खारेज गरियोस् भन्ने मागको केही अंश अस्वीकृत गर्ने अघिल्लो आदेशको व्याख्या थियो। त्यहाँ टाइम्सका लेखहरूबाट सामग्री उत्पादन गरेको “धेरै” र “व्यापक रूपमा सार्वजनिक” उदाहरणहरू छन्, जसले मुद्दा अगाडि बढ्नसक्ने देखाउँछ भन्ने उल्लेख गरिएको थियो।

प्रकाशित: २४ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया