ग्रामरलीले जेनेरल क्याटालिस्टबाट पायो १ अर्ब डलरको लगानी प्रतिबद्धता

Technology Khabar १७ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

लेखन सहायक स्टार्टअप ग्रामरलीले जेनेरल क्याटालिस्टबाट १ अर्ब डलरको लगानी प्रतिबद्धता प्राप्त गरेको छ। १४ वर्ष पुरानो यो कम्पनीले नयाँ पूँजी आफ्नो बिक्री र मार्केटिङ प्रयासमा खर्च गर्नेछ, जसले गर्दा रणनीतिक अधिग्रहणहरूका लागि पहिलेको पुँजी प्रयोग गर्न सकिनेछ।

यो परम्परागत भेन्चर लगानीभन्दा फरक प्रकारको सहकार्य हो। जेनेरल क्याटालिस्टले यो लगानीको बदलामा ग्रामरलीमा कुनै इक्विटी हिस्सा लिने छैन। यसको सट्टा, ग्रामरली ले जेनेरल क्याटालिस्ट को लगानी प्रयोगबाट उत्पन्न हुने आम्दानीको एक स्थिर र सीमित प्रतिशत फिर्ता तिर्नेछ।

टेकक्रञ्चका अनुसार यो लगानी जेनेरल क्याटालिस्टको कस्टमर भ्यालु फण्ड (सीभीएफ) बाट गरिएको हो, जसले स्थिर राजस्व भएका ढिलो चरणका स्टार्टअपहरूलाई व्यवसाय विस्तारका लागि पूँजी उपलब्ध गराउँछ। सीभीएफको वैकल्पिक वित्तीय रणनीति अन्तर्गत कम्पनीको नियमित आम्दानीलाई आधार मानेर “ऋण” दिइन्छ।

ग्रामरलीजस्ता कम्पनीका लागि यो प्रकारको वित्त पोषण लाभदायक मानिन्छ किनभने यो ननडाइल्युटिभ हो — जसको अर्थ कम्पनीको स्वामित्व हिस्सा घट्दैन — र यसले कम्पनीको मूल्यांकनलाई पनि रिसेट गर्दैन।

ग्रामरलीको मूल्यांकन सन् २०२१ मा १३ अर्ब डलर थियो, जुन जेडआईआरपी (जेरो इन्ट्रेस्ट रेट पोलिसी) को उच्च अवधिमा गरिएको थियो। तर, अहिलेको बजारमा यसको मूल्यांकन निकै कम भएको एक गुमनाम लगानीकर्ताले बताएका छन्।

ग्रामरली ले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया नदिएको टेकक्रञ्चले उल्लेख गरेको छ।

गत डिसेम्बरमा ग्रामरलीले प्रडक्टिभिटी स्टार्टअप कोडालाई अधिग्रहण गरेको थियो र त्यसका सीईओ शिशिर मेहरोत्रालाई कम्पनीको नेतृत्वमा नियुक्त गरेको थियो। अधिग्रहणपछिको परिवर्तनसँगै ग्रामरली एक एआई उत्पादकत्व उपकरणमा रूपान्तरण हुँदैछ। कम्पनीको वार्षिक आम्दानी ७०० मिलियन डलरभन्दा बढी रहेको जनाइएको छ।

जेनेरल क्याटालिस्टको कस्टमर भ्यालु फण्डले लेमोनेड (इन्स्योरटेक) र रो (टेलिहेल्थ प्लेटफर्म) लगायत झण्डै ५० कम्पनीमा लगानी गरिसकेको छ। यो कोषका आफ्नै अलग सीमित साझेदार छन् र हालै जेनेरल क्याटालिस्ट ले गरेको ८ अर्ब डलरको पूँजी संकलनमा यो समावेश थिएन।

प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया