राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशका यातायात व्यवसायीद्वारा सार्वजनिक यातायात ठप्प

Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार

राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशका यातायात व्यवसायीद्वारा सार्वजनिक यातायात ठप्प
फाइल तस्बिर। पोखरा बजार

काठमाडौं ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई मान्यता दिने नयाँ कानुन लागु गरेपछि यातायात व्यावसायीहरुले प्रदेशमा सार्वजनिक यतायात सेवा ठप्प पारेका छन्।

गण्डकी प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएसँगै विरोधमा व्यवसायीले सार्वजनिक सवारी ठप्प पारेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीमा सार्वजनिक यातायात सेवा थन्क्याएका व्यवसायीले राइड सेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न सरकारलाई दबाब दिएका छन्।

सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले उक्त नियमावली खारेज हुनुपर्ने माग गरेको छ।

सङ्घर्ष समितिका संयोजक केदारप्रसाद पौडेलले राइड सेयरिङ नियमावली ल्याएर सार्वजनिक यातायात सेवालाई धराशायी बनाउन खोजिएको आरोप लगाएका छन्।

आन्दोलनका कारण लामो तथा छोटो दूरीका बस, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा गण्डकी प्रदेश भित्र ठप्प छ।

१६ गतेदेखि गण्डकी प्रदेशभित्र र १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने चेतावनी व्यवसायीको छ।

तर राइडरहरुले भने नियमित सेवा दिईरहेको हुँदा यात्रुहरुलाई सहजता भएको छ।

गण्डकी प्रदेश सरकारले बैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमाली मन्त्रिपरिषदबाट पारित गर्दै राजपत्रमा प्रकाशित गरेको थियो।

व्यवसायीले त्यसको विरोध गरेपछि सरकारले वार्ता समिति बनाएर व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया