पर्प्लेक्सिटी एआईमा अब नयाँ सुविधा: रिपोर्ट, स्प्रेडसिट तथा ड्यासबोर्ड पनि निर्माण गरिदिने

Technology Khabar १७ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

गुगललाई चुनौती दिइरहेको एआई-सञ्चालित सर्च इन्जिन पर्प्लेक्सिटीले बिहीबार पर्प्लेक्सिटी ल्याब्स सार्वजनिक गरेको छ। यो सुविधा पर्प्लेक्सिटीको महिनावारी २० डलर पर्ने प्रो योजना लिएका प्रयोगकर्ताहरूका लागि हो, जसले रिपोर्ट, स्प्रेडसिट, ड्यासबोर्ड लगायत सामग्रीहरू बनाउन सक्छ।

टेकक्रञ्चका अनुसार पर्प्लेक्सिटी ल्याब्स वेब, आईओएस र एण्ड्रोइडमा उपलब्ध छ र चाँडै नै म्याक र विण्डोजका लागि पनि आउने बताइएको छ।

“पर्प्लेक्सिटी ल्याब्सले तपाईंलाई विभिन्न कार्य तथा व्यक्तिगत परियोजनाहरू पूरा गर्न सहयोग पुर्‍याउन सक्छ,” पर्प्लेक्सिटीले ब्लग पोस्टमा उल्लेख गरेको छ। “ल्याब्स यस्तो तरिकाले डिजाइन गरिएको हो जसले १० मिनेट वा सोभन्दा बढी समय लगाएर थप उपकरणहरूको प्रयोग गरी काम सम्पन्न गर्छ, जस्तै उन्नत फाइल निर्माण र साना एप निर्माण।”

ल्याब्सको यो सार्वजनिक भएको दिनमै भाइरल एआई एजेन्ट प्लेटफर्म मानुसले पनि स्लाइड डेक बनाउने उपकरण सार्वजनिक गरेको छ। ल्याब्स पर्प्लेक्सिटीको खोजमुखी मूल व्यापार बाहिरको क्षेत्र विस्तार गर्ने प्रयासको हिस्सा हो। हाल पर्प्लेक्सिटीले कमेट नामक वेब ब्राउजरको परीक्षण गरिरहेको छ र रीड डट भीसी नामक व्यवसायिक सामाजिक सञ्जाल पनि खरिद गरिसकेको छ।

एआईद्वारा सञ्चालित पर्प्लेक्सिटी ल्याब्सले अनुसन्धान र विश्लेषण गर्न सक्छ, जसमा करिब १० मिनेट लाग्छ र यसले वेब खोज, कोड चलाउने, चार्ट तथा तस्बिरहरू बनाउने उपकरण प्रयोग गर्छ। ल्याब्सले अन्तरक्रियात्मक वेब एपहरू बनाउने, डाटा संरचना गर्न कोड लेख्ने, सूत्रहरू प्रयोग गर्ने र कागजातहरू तयार गर्ने काम गर्न सक्छ।

ल्याब्सको प्रयोगक्रममा तयार गरिएका सबै फाइलहरू — जस्तै चार्ट, तस्बिर र कोड फाइलहरू — एउटै ट्याबमा व्यवस्थित गरिन्छन्, जहाँबाट हेर्न र डाउनलोड गर्न सकिन्छ।

“यो विस्तारित क्षमता तपाईंलाई परियोजनाहरूका लागि फराकिलो सामग्री उत्पादन गर्न सक्षम बनाउँछ,” पर्प्लेक्सिटीले ब्लगमा उल्लेख गरेको छ।

सबै कुरा सैद्धान्तिक रूपमा राम्रो लागे पनि, एआई पूर्ण रूपमा भरपर्दो नभएकाले ल्याब्स सधैं प्रभावकारी नहुन पनि सक्छ। यद्यपि, परीक्षण नगरेसम्म निष्कर्षमा नपुगिने बताइएको छ।

पर्प्लेक्सिटीले पछिल्ला समयमा व्यवसायमुखी सुविधामा लगानी बढाएको छ। गएको वर्ष कम्पनीले प्रयोगकर्ता व्यवस्थापन र “आन्तरिक जानकारी खोज” सहितको इन्टरप्राइज योजना ल्याएको थियो।

यी कदमहरू पर्प्लेक्सिटी मा लगानी गरेका भेन्चर पूँजीकर्ताहरूको दबाबमा पनि भएको हुन सक्छ, जसले चाँडै प्रतिफल देख्न चाहिरहेका छन्। पर्प्लेक्सिटी ले लगानीकर्ताबाट १८ अर्ब डलर मूल्यांकनमा १ अर्ब डलरसम्मको पूँजी संकलन गर्ने तयारी गरिरहेको पनि बताइएको छ।

प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया