फोल्डेबल ल्यापटप ल्याउँदै अमेजन, एप्पलको भन्दा अगाडि सार्वजनिक हुन सक्ने

Technology Khabar १४ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

अमेजनले ल्यापटप बजारमा चकित पार्ने खालको प्रवेश गर्न सक्ने चर्चा चलेको छ। कम्पनीले फोल्ड हुने स्क्रिनसहितको ल्यापटप ल्याउने योजना समेत बनाइरहेको बताइएको छ। फायर टीभी स्टिक र किण्डल इ-रीडर बनाउने यो कम्पनीले पीसी बजारमा फेरि भाग्य परीक्षा गर्न चाहेको देखिएको छ।

यो फोल्डेबल ल्यापटपबारेको विवरण विश्वसनीय एप्पल विश्लेषक मिङ-ची कुओमार्फत आएको हो। हालै ह्वावेले चीनमा आफ्नो फोल्डेबल ल्यापटप सार्वजनिक गरेको छ, र कुओका अनुसार अमेजनले पनि त्यस्तै रणनीति अपनाउने संकेत देखिएको छ।

ह्वावेको ल्यापटप १८ इन्चको स्क्रिनसहित आउँछ, जुन फोल्ड भएपछि १३ इन्चको फर्म फ्याक्टरमा परिणत हुन्छ। कुओका अनुसार अमेजनको फोल्डेबल ल्यापटप एप्पलको तुलनामा छिटो अर्थात् सम्भावित रूपमा सन् २०२६ को अन्त्य वा २०२७ को सुरुमा बजारमा आउन सक्छ। एप्पलले पनि फोल्डेबल डिभाइसको तयारी गरिरहेको बताइएको छ, तर पहिलो उत्पादन म्याकबुक होइन, आईप्याड हुन सक्छ।

न्युज१८ का अनुसार अमेजनको ल्यापटपले विण्डोज वा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग नगर्ने सम्भावना रहेको उल्लेख छ। यस्तो अवस्थामा, डिभाइसलाई कुन प्लेटफर्मले चलाउने भन्ने प्रश्न उठ्छ। कम्पनीले फायर ओएसको नयाँ संस्करण प्रयोग गर्नेछ, जसको इन्टरफेस विण्डोज ११ सँग मिल्दोजुल्दो हुने अनुमान छ।

अमेजनले एण्ड्रोइडबाट बिस्तारै टाढा जाने योजना बनाइरहेको चर्चा छ, जसरी ह्वावेले हार्मोनीओएस विकास गरेको हो। यो रणनीति अमेजनको फोल्डेबल ल्यापटप योजनाका लागि उपयुक्त हुन सक्ने अनुमान गरिएको छ।

तर मिङ-ची कुओले यसबारे विस्तृत प्राविधिक विवरण भने दिएका छैनन्। सम्भवतः सन् २०२६ नजिकिँदै जाँदा यसबारे थप स्पष्ट जानकारी सार्वजनिक हुनेछ।

प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया