ईएसएले अन्तरिक्षमा पहिलो एक्स-रे स्याटेलाइट पठाएको ४२ वर्ष पूरा

  • Technology Khabar | १४ जेष्ठ २०८२, बुधबार
ईएसएले अन्तरिक्षमा पहिलो एक्स-रे स्याटेलाइट पठाएको ४२ वर्ष पूरा

काठमाडौं ।

सन् १९८३ मे २६ मा युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले आफ्नो पहिलो एक्स-रे वेधशाला अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। यस यानलाई एक्सोस्याट (यूरोपियन एक्स रे अब्जरभेटरी स्याटेलाइट) भनिन्थ्यो।

यो मिशन पुरै रूपमा ब्रह्माण्डको अध्ययन गर्न एक्स-रे विकिरण मात्रै हेर्न समर्पित थियो। मानव आँखाले एक्स-रे तरंगदैर्ध्यको प्रकाश देख्न सक्दैन।

उपग्रह र टेलिस्कोपमार्फत एक्स-रे खोजेर खगोलशास्त्रीहरूले उच्च-ऊर्जाका विकिरण स्रोतहरू पत्ता लगाउने र अध्ययन गर्ने गर्छन्। यसमा सुपरनोभा, सक्रिय ग्यालेक्सी केन्द्रहरू, ग्यालेक्सी क्लस्टरहरू, ब्ल्याक होल, न्युट्रोन तारा, ह्वाइट ड्वार्फ, र बाइनरी स्टारहरू पर्छन्।

स्पेस डटकमका अनुसार एक्सोस्याट क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग एयर फोर्स बेसबाट थोर-डेल्टा रकेटमा प्रक्षेपण गरिएको थियो। यसलाई अत्यधिक लम्बिएको अण्डाकार कक्षमा राखिएको थियो, जसले पृथ्वीको एक फन्को लगाउन ९० घण्टा लाग्थ्यो। तीन वर्षको कक्षीय यात्रामा यसले थुप्रै महत्वपूर्ण खोजहरू गर्‍यो।

यसको सबैभन्दा प्रसिद्ध खोज एक्स-रे बाइनरी ताराहरूमा पाइने ‘क्वेजाइ-पिरियोडिक अस्सिलेसन’ थियो। यसको अर्थ, ती ताराहरूबाट आउने एक्स-रे प्रकाश घडीको टिक-टिक झैँ अत्यन्तै उच्च शुद्धतामा आवधिक रूपमा झिमिक्क झिमिक्क गर्छ।

उपग्रह कक्षबाट बाहिरिएर वायुमण्डलमा जलेर नष्ट भएपछि यो एक्सोस्याट मिशन अन्त्य भयो । तर वैज्ञानिकहरूले अहिले पनि त्यसको तथ्यांक अध्ययन गरिरहेका छन् र नयाँ कुराहरू सिकिरहेका बताइएको छ।

प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...