गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउने बढे

  • Technology Khabar | १२ जेष्ठ २०८२, सोमबार
गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउने बढे

काठमाडौं ।

पछिल्लो समय सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत १५ दिनको अवधिमा एक हजार १०२ जनाले परिचयपत्रका लागि आवेदन दिएका छन्।

गैरेले बैंकमा खाता खोल्दा र सामाजिक सुरक्षा भत्ता लिनका लागि परिचयपत्र अनिवार्य गरेकाले आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएको बताए। सेवाग्राही सरिता खरेलले बैकमा खाता खोल्दा पनि परिचयपत्र अनिवार्य भनेकाले आफू परिचयपत्र बनाउन प्रशासन आएको बताए।

राहदानी बनाउने पनि बढे

गत १५ दिनमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा ३६२ जनाले राहदानीका लागि आवेदन दिएका छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी बनाउनेमा बढी युवा रहेका छन्।

कक्षा १२ पास गरी नागरिकता बनाउन आउँदा सँगै राहदानी पनि बनाउने गरेको उनको भनाइ छ। यसका साथै श्रीमान् विदेशमा हुनेका श्रीमती र नाबालकले पनि राहदानी बनाउने गरेका छन्। त्यससँगै पहिलेका पुराना राहदानीको समयावधि सकिएर नवीकरणका लागि केही व्यक्ति आउने गरेको प्रशासनले जनाएको छ।

पछिल्लो १५ दिनको अवधिमा ४८६ जनाले नयाँ नागरिकता बनाउँदा ३६९ जनाले प्रतिलिपि बनाएका छन्। नागरिकले नागरिकतालाई वास्ता नगर्ने, जथाभावी फ्याँक्ने र सानातिना गल्ती भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उनको भनाइ छ।

प्रजिअ गैरेले पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकोमा श्रीमान् श्रीमती र बाबुआमाको नाम नमिल्ने कारण पनि अर्को रहेको बताए।

उनले सोही समयावधिमा नाबालक परिचयपत्र ३५, राहदानी आवेदन सङ्कलन ३६९, राहदानी वितरण ३५५, राष्ट्रिय परिचयपत्रका लागि आवेदन एक हजार १०२, परिचयपत्र वितरण ८२४ र ८४ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको बताए।

जिल्ला प्रशासन कार्यालय गुल्मीले यो समयमा राहदानीबाट २१ लाख दुई हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ। यसका साथै संस्था दर्ता र नवीकरणबाट नौ हजार २५० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार