Technology Khabar १२ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
भियतनामको प्रविधि मन्त्रालयले टेलिग्राम प्रयोगकर्ताहरूले गरेका आपराधिक क्रियाकलापविरुद्ध सहयोग नगरेको भन्दै देशभर यसको पहुँच रोक्न टेलिकम सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। टेलिग्रामले यस निर्णयप्रति “अचम्म” व्यक्त गरेको छ।
मे २१ मितिको एक सरकारी कागजातअनुसार, प्रविधि मन्त्रालयअन्तर्गतको टेलिकम विभागका उपप्रमुखले टेलिकम कम्पनीहरूलाई टेलिग्राम रोक्ने उपायहरू लागू गर्न र जुन २ भित्र त्यसबारे मन्त्रालयलाई रिपोर्ट गर्न निर्देशन दिएका छन्।
प्रहरीको रिपोर्टमा भियतनाममा रहेका ९,६०० टेलिग्राम च्यानल र समूहमध्ये ६८ प्रतिशतले कानून उल्लंघन गरेका रोयटर्सले उल्लेख गरेको छ। तीमध्ये ठगी, लागूऔषध कारोबार र “आतङ्कवादसँग सम्बन्धित आशंका गरिएका घटनाहरू” समावेश छन्।
मन्त्रालयले सेवा प्रदायकहरूलाई “टेलिग्रामका गतिविधिहरू रोक्न उपायहरू कार्यान्वयन गर्न” भनेको छ।
समाचार प्रकाशित भएपछि, सरकारले आफ्नो आधिकारिक वेब पोर्टलमार्फत टेलिग्राम विरुद्धको कारबाही पुष्टि गरेको छ। “टेलिग्राम यस्ता भनाइप्रति अचम्ममा परेको छ,” कम्पनीका प्रतिनिधिले शुक्रबार बताएका छन्।
“हामीले भियतनामबाट प्राप्त कानुनी अनुरोधहरूमा समयमै प्रतिक्रिया दिएका छौं। आज बिहान हामीले सञ्चार प्राधिकरणबाट नयाँ टेलिकम नियमअन्तर्गत सेवा सूचनासम्बन्धी औपचारिक सूचना पाएका छौं। यसमा प्रतिक्रिया दिनको लागि मे २७ सम्मको समय दिइएको छ, र हामी त्यसको प्रक्रिया गरिरहेका छौं,” उनले भने।
प्रविधि मन्त्रालयका एक अधिकारीले बताएअनुसार टेलिग्रामले आपराधिक अनुसन्धानका क्रममा प्रयोगकर्तासम्बन्धी डाटा नदिएकोले यो कदम चालिएको हो।
भियतनामी प्रहरी र सरकारी समाचार संस्थाहरूले पटक–पटक टेलिग्राम च्यानलहरूमा हुने सम्भावित अपराध, ठगी र डाटा चोरीबारे चेतावनी दिँदै आएका छन्।
प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार