Technology Khabar ११ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
खगोलविद्हरूले वास्तवमा हाम्रो सौर्यमण्डलको बाहिरी भागमा, प्लुटोभन्दा धेरै पर एक सम्भावित नयाँ पुड्को ग्रह (dwarf planet) पत्ता लगाएका छन्। २०१७ ओएफ२०१ नाम दिइएको यो वस्तुको व्यास लगभग ७०० किलोमिटर (४३५ माइल) हुने अनुमान गरिएको छ र जसले यसलाई पुड्को ग्रहको रूपमा योग्य बनाउन सक्ने जनाइएको छ। यसको चरम कक्ष पूरा हुन लगभग २५,००० वर्ष लाग्ने बताइएको छ भने यसको नजिकको बिन्दु सूर्यबाट पृथ्वीको दूरी भन्दा ४४.५ गुणा र यसको सबैभन्दा टाढाको बिन्दु सूर्यबाट पृथ्वीको दूरी भन्दा १,६०० गुणा बढी भएको उल्लेख गरिएको छ।
एक समाचार विज्ञप्ति अनुसार, चेङले प्रिन्सटन विश्वविद्यालयका सहकर्मी जियाक्सुआन ली र एरिटस याङसँग मिलेर आकाशमा वस्तुको विशिष्ट प्रक्षेपण ढाँचा पहिचान गर्ने उन्नत कम्प्युटेशनल विधिहरू प्रयोग गरेर यो खोज गरेका हुन्। नयाँ वस्तुको आधिकारिक घोषणा अन्तर्राष्ट्रिय खगोलीय संघको माइनर प्लानेट सेन्टरले सन् २०२५ को मे २१ तारिखमा गरेको थियो भने अक्र्सिभ (arXiv) प्रिप्रिण्टमा पनि मे २१ तारिखमा नै साझा गरिएको थियो।
न्यु जर्सीको प्रिन्सटनस्थित इन्स्टिच्युट फर एडभान्स्ड स्टडीका खगोलभौतिकशास्त्री सिहाओ चेङले “सूर्यबाट कक्षमा सबैभन्दा टाढाको बिन्दु – वस्तुको एपेलियन – पृथ्वीको कक्षको भन्दा १६०० गुणा बढी छ” भनि बताएका छन्। “यसैबीच, यसको सूर्यसँगको कक्षमा सबैभन्दा नजिकको बिन्दु –पेरिहेलियन – पृथ्वीको कक्षाको भन्दा ४४.५ गुणा बढी भएको र प्लुटोको कक्ष जस्तै छ” भनि चेङले उल्लेख गरेका छन्।
यो चरम कक्षमा वस्तुलाई पूरै घुम्नको लागि लगभग २५,००० वर्ष लाग्ने बताइएको छ भने गुरुत्वाकर्षण अन्तरक्रियाको जटिल इतिहासको बारेमा पनि सुझाव दिएको उल्लेख गरिएको छ। “यसले कुनै विशाल ग्रहसँग नजिकको भेटघाट अनुभव गरेको हुनुपर्छ, जसले गर्दा यसलाई फराकिलो कक्षामा बाहिर निकालिएको/धकेलिएको हुनुपर्छ” भनि याङले बताएका छन्। “यसको बसाइँसराइमा एक भन्दा बढी चरणहरू भएको हुन सक्छ। यो सम्भव छ कि यो वस्तु पहिले हाम्रो सौर्यमण्डलको सबैभन्दा टाढाको क्षेत्र, जुन धेरै धूमकेतुहरूको घर हो, ओर्ट क्लाउडमा बाहिर निकालिएको र त्यसपछि फिर्ता पठाइएको हुन सक्छ” भनि चेङले थप उल्लेख गरेका छन्।
“धेरै चरम टीएनओहरूमा कक्षहरू हुन्छन् जुन विशिष्ट आरियनटेसनमा समूहबद्ध देखिन्छन्, तर २०१७ ओएफ२०१ यसबाट अलग छ” भनि लीले बताएको एनडीटिभीले उल्लेख गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार