Technology Khabar ११ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले समग्र पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आमसञ्चार विधेयक ल्याउने तयारी मन्त्रालयले गरेको बताएका छन्।
“पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउन नीतिगत सुधार भइरहेको छ,” उनले भने, “प्रिन्ट, ब्रोडकास्ट र अनलाइन मिडियालगायत सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आमसञ्चार विधेयक ल्याउने तयारी गरिएको हो, विधेयक ल्याउँदा नेपाल पत्रकार महासंघसहित सरोकार राख्ने सबैसँग छलफल गरिने छ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सञ्चारिका समूह गण्डकीको आयोजनामा शनिबार पोखरामा भएको पत्रकारितामा महिलाहरूको सहभागिता तथा विकासका लागि सरोकारवालासँगको छलफल कार्यक्रममा उनले सञ्चार क्षेत्रको नीतिगत सुधारका लागि आमसञ्चार विधेयक, मिडिया काउन्सिल विधेयक र साइबर अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक पनि ल्याउन लागिएको बताए।
साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रीपरिषदबाट पास भएकाले संसदमा पेस गर्ने चरणमा पुगेको उनको भनाइ छ। मिडिया काउन्सिल विधेयक छिट्टै पारित हुने उनले बताए।
डिजिटल प्लेटफर्ममा प्रेस स्वतन्त्रताको दुरुपयोग भएकाले यसलाई पनि व्यवस्थित गर्नेतर्फ मन्त्रालय लागिपरेको उनको भनाइ छ। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक सञ्जालको नियमन अत्यन्त जरुरी भएको पनि बताए।
सरकारी सञ्चारमाध्यमलाई सार्वजनिक सेवामा लैजाने गरी काम अघि बढेको उनको भनाई छ। “सरकारो मिडियाले प्रधानमन्त्री, सञ्चारमन्त्रो वा सरकारको गुणगान गर्नु पर्दैन,” उनले भने, “राज्य र जनतालाई बलियो बनाउने गरी काम गर्नु पर्दछ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको विकाससँगै पत्रकारितामा चुनौती थपिएको बताइन्। कार्यक्रममा सञ्चारिका समूह गण्डकीले सञ्चालन गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार-२०७९ बाट राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी र सञ्चारिका पत्रकारिता पुरस्कार – २०८० बाट पत्रकार जमुना वर्षा शर्मालाई नगद २० हजारसहित पुरस्कृत गरिएको थियो।
यसैगरी गुरुङ ब्युटी एकेडेमी पत्रकारिता अवार्डबाट म्याग्दीका पत्रकार देवी जिसीलाई नगद १० हजारसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी प्रेस काउन्सिल सदस्य केशवशरण लामिछाने, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, गण्डको प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव ममता बाँस्तोलालगायतले सञ्चार क्षेत्रका बारेमा बोलेका थिए।
आजको गोरखापत्रबाट
प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार