लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने पक्का, असार मसान्तसम्म पहिलो चरणको लाइसेन्स विभागलाई बुझाउने

Technology Khabar ११ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

छाप्न बाँकी रहेका २८ लाख सवारी चालक अनुमतिपत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ। यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुक्षण मुद्रण केन्द्रबिच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सझदारीपत्रमा हस्ताक्षर गरे। हस्ताक्षरपछि उनीहरूबिच समझदारीपत्र सुरक्षा विशेषतासहितको सवारी चालक अनुमतिपत्र आदानप्रदान भएको थियो।

विभागका महानिर्देशक पोखरेलले गोरखापत्रसँग कुरा गर्दै समझदारीपत्रमा हस्ताक्षर भएसँगै सवारी चालक अनुमतिपत्र छपाइको बाटो खुलेको बताए। उनले अहिलेदेखि नै आवश्यक तयारी गरी असारदेखि छपाइ सुरु हुने जानकारी दिए। दुई सरकारी निकायबिचको सहकार्यले सवारी चालक छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ।

दुवै पक्षबिचको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्ने छ। अब सुरक्षण मुद्रण केन्द्रले क्यूआरसहितका विभिन्न सुरक्षा विशेषतासहितको छपाइ गर्ने छ।

नवीकरण गरिएकोसमेत लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्दै आएको अहिलेको अवस्थामा यस सम्झौता अनुसार सवारी चालक अनुमतिपत्र छापिएपछि यस अवस्था अन्त्य हुने विश्वास गरिएको छ।

तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि नागरिक एपमा चालक अनुमतिपत्र समावेशसमेत गरिएको छ। अहिले सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिबाना भुक्तानी गराउने कार्यसमेत गर्दै आएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया