स्मार्ट बन्दै किसान: महिना मरेपछि दूधको भुक्तानी बैंकमा, सूचना मोबाइलमा

Technology Khabar ८ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

गुल्मीको सत्यवती ४, एक्सिङकी राधिका गैरे गाडाको मोबाइलमा महिना मर्नेबित्तिकै दुधको भुक्तानी पाएको घण्टी बज्छ। स्याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहको सदस्यसमेत रहकी उनको एउटा भैंसी र गाई छ, अर्को गाई थप्ने योजना छ।

गैरेले अहिले दैनिक बिहान साँझ गरेर २४ लिटर दुध बेच्छिन्। मासिक ४५/ ५० हजार रुपियाँ कमाउँछिन्। बिहे भएर घर आउँदा जीविकोपार्जनको कुनै उपाय नै थिएन। घरेलु मदिरा पारेरै कैयौँ वर्ष बिताएकी गैरेको जीवन फेरिन भने धेरै समय लागेन।

स्थानीय सरकार बनेपछि गाउँपालिकाले कृषि र पशुपालनको योजना बनायो। महिला एकीकृत बने। सिप र अनुदान पाएपछि सत्यवती गाउँपालिका-४, एक्सिङका महिला मदिरा छाडेर पशुपालनमा जोडिए।

गैरेले भनिन्, “त्यो बेला कमाइको विकल्प थिएन, मदिराले गर्जो मात्रै चल्थ्यो। मदिरा व्यापारले समाजमा इज्जत पनि हुन्नथ्यो अनि लडाइँ झगडा धेरै हुन्थ्यो।” अहिले राधिकाले परदेश गएका श्रीमान् तिलक गाहालाई पनि गाउँ फर्काएर कुषिसँगै कुटानीपिसानी व्यवसायमा जोडेकी छिन्। उनले सत्यवती गाउँपालिकाले अनुदान अनि सिप पनि दिइरहेको बताइन्।

एक्सिङकै मोना सारुले पनि डेढ दशक मदिरा पारेर जीविकोपार्जन गरिन्। अहिले चाडपर्वबाहेक मदिरा उत्पादन हुँदैन। घरमा समूहबाट किनेका दुई वटा गाई छन्। सारुको मोबाइलमा पनि महिना मरेपछि करिब ६० हजार रुपैयाँ आउँछ।

श्रीमान् मानसिंह सारू र आफ्नो सबै समय पशुपालनमा खर्च भइरहेको छ। याङक्सिङ कृषि तथा पशुपालन महिला समूहको सदस्य भएकाले ऋण लिएर ६० हजार रुपैयाँमा गाई किनेकी सारुलाई पालिकाले २५ हजार अनुदान दियो।

एक्सिङका राधिका र मोना जस्तै अधिकांश जनजाति महिला अचेल मदिरा उत्पादन छाडेर पशुपालन गर्छन्। एउटै गाउँका ४०/४५ जना महिलाले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन्। सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा धेरै दुध सङ्कलन गर्ने गरेको छ।

सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक गोकर्ण भण्डारीले लिम्बाका विभिन्न ठाउँ र खैरेनो बजारको समेत गरेर दैनिक सात सय लिटरसम्म दुध सङ्कलन गर्ने सहकारीले दही, पनिर उत्पादनलगायत दुग्ध विकास संस्थानलाई दुध बिक्री गर्ने गरेको बताउनुभयो। उनले बर्सेनि दुध उत्पादन वृद्धि भए पनि विविधीकरणमा काम गर्न नसकिएको जनाए।

गाउँमा २०७३ सालबाट पशुपालन बढेको छ। पहिले थोरै थोरै उत्पादन हुन्थ्यो। सत्यवती गाउँपालिकाले एकल कम्पनीबाट भन्दा समूहमार्फत दुध उत्पादन विस्तार गर्दा धेरै जनाको परिवारसम्म पैसा पुग्ने भएकाले संस्थागत उत्पादन र बजारीकरणमा जोड दिएको छ।

पशु प्राविधिक नारायण खनालले गाउँपालिकाले प्रतिगाई २५ हजार अनुदान र तालिमसहित सङ्कलन केन्द्रका लागि सहजीकरण गरिरहेको बताए। खनालका अनुसार अघिल्लो वर्ष एक लाख ६४ हजार लिटर दुध सत्यवतो दुग्ध उत्पादक सहकारी संस्था र अस्लेषा, ठुलोलुम्पेक र चेहेमोबाट बिक्री भएको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: ८ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया