सञ्चार क्षेत्रमा सामाजिक सञ्जालको प्रभाव बढ्न नदिन सचेतना आवश्यक

  • Technology Khabar | १८ बैशाख २०८३, शुक्रबार
सञ्चार क्षेत्रमा सामाजिक सञ्जालको प्रभाव बढ्न नदिन सचेतना आवश्यक

काठमाडौं ।

सञ्चार क्षेत्रमा सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभाव बढ्न थालेकाले यससम्बन्धी सचेतना वृद्धि हुनुपर्नेमा जोड दिइएको छ।

नेपाल प्रेस युनियनले फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) को सहयोगमा आज यहाँ आयोजना गरेको ‘डिजिटल रुपान्तरण : अर्थ राजनीति र सञ्चार क्षेत्रका चुनौती’ विषयक सेमिनार कार्यक्रमका वक्ताहरूले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभावले चुनौती थपिएकाले यससम्बन्धी चेतना बढाउनुपर्नेमा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन्।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हरिहर विरहीले सञ्चारमाध्यममा एल्गोरिदम उपहार र चुनौती दुवै हुन सक्ने भएकाले सकारात्मक रुपमा राम्रो प्रभाव पार्नेगरी अघि बढाउनुपर्ने बताए। एउटा झूटलाई सयपटक दोहोर्याएर सत्य साबित गर्न सकिन्छ भन्ने मान्यताअनुसार नेपालमा सामाजिक सञ्जाल र एल्गोरिदमलाई प्रयोग गर्न थालिएकाले सचेत हुनुपर्ने उनको भनाइ थियो।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले नेपाली सञ्चार क्षेत्रमा चौतर्फी आक्रमण भइरहेको बताए। युनियनका अर्का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक सञ्जाल र एल्गोरिदमबाट उत्पन्न गराइने भ्रमबाट नेपाली सञ्चारमाध्यम मुक्त हुनुपर्ने बताए। यस्तो भ्रमबाट जनतालाई पनि मुक्त गराउने दायित्व सञ्चारमाध्यमकै रहेको उनको भनाइ थियो।

युनियनका सल्लाहकार एवं वरिष्ठ पत्रकार तेजप्रकाश पण्डितले एल्गोरिदमको प्रभावबाट नेपाली समाजलाई मुक्त गराउने काममा सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले एल्गोरिदमको नकारात्मक मात्र नभई सकारात्मक पक्ष पनि भएकाले गलत कुरा सकारात्मक विषय मात्र लिनसक्नुपर्ने बताए।

महासङ्घका पूर्वसचिव एवं रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुख डा जगत नेपालले नेपाली सञ्चारमाध्यमका बारेमा अध्ययन एवं अनुसन्धान नभएकाले पनि यस्तो अवस्था आएको बताए। यस्ता कार्यक्रमले सञ्चारमाध्यम र यहाँ आबद्ध सबैलाई अध्ययन–अनुसन्धानतर्फ प्रेरित गर्ने उनको भनाइ थियो।

कार्यक्रममा उज्ज्वल आचार्य र पुष्पराज आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि झा र कृष्णा पौडेलले टिप्पणी गरेका थिए। यसैगरी, पुष्पराज आचार्य प्रस्तुत गरेको कार्यपत्रमाथि नेपाल र बिमला तुम्खेवाले टिप्पणी गर्दै नेपाली पत्रकारिता क्षेत्रमा देखिएका चुनौती सामना गर्न चेतना र जागरण फैल्याउनुपर्नेमा जोड  दिए।

एफइएसका कार्यक्रम व्यवस्थापक पवित्रा राउतले मिडिया साक्षरतालगायत विषयमा पत्रकारितासँग सम्बन्धित संस्थासँग मिलेर यस्ता गतिविधि गरिरहेको जानकारी दिइन्। कार्यक्रममा युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेल, प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चन, महासङ्घका सचिव सोनी शर्मालगायतले भ्रमबाट नेपाली सञ्चारमाध्यमलाई मुक्त गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। रासस

प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार