
काठमाडौं ।
नागरिकका गुनासा सुन्न र समाधान गर्नका लागि सञ्चालनमा ल्याइएको एप्समा गुनासा नै नआउने गरेको पाइएको छ। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाले नागरिकका गुनासा सुन्नका लागि सञ्चालनमा ल्याएको मोबाइल एप्समा गुनासा नआएको गाउँपालिकाले जनाएको छ।
पालिकाका सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी ओमबहादुर थापाका अनुसार पालिकाले सञ्चालनमा ल्याएको मोबाइल एप्समा कमै मात्रामा गुनासा आउने गरेका छन्। एप्स सञ्चालनमा ल्याउँदा नागरिकको पालिकाप्रति गुनासा आउने र सोही एप्समार्फत नै जानकारी प्रदान गर्ने भनिए पनि उद्देश्य अनुसार गुनासा नआएको बताए।
मोवाइल एप्सको पहुँच नहुनुका साथै जानकारी नै नभएर पनि गुनासा कम आएको हुन सक्ने थापाको भनाइ छ। थापाले पछिल्लो समयमा मोबाइल एप्समा भन्दा पनि केही नकारात्मक भेट्यो भने सामाजिक सञ्जाल फेसबुकमा राख्दा भाइरल भइन्छ भन्ने मान्यताले पनि एप्समा गुनासो नआएको हुन सक्ने बताए।
पालिकाले मोबाइल एप्सलाई अझ प्रभावकारी बनाउनका लागि यसबारे थप जानकारी गराउने गरी आफूहरू लागेको जनाएको छ।
गत वर्ष वर्षायामको समयमा एप्समा केही गुनासा आए पनि यस आर्थिक वर्षमा भने न्यून मात्रामा गुनासा आउने गरेका छन् । १५० भन्दा बढी गुनासा चन्द्रकोट गाउँपालिकाले पालिकाभित्रका नागरिकका लागि लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क टोल फ्री नम्बरमा १५० भन्दा बढी गुनासा आएका छन् । पालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षमा १५० भन्दा बढी गुनासा आएको र ती गुनासाको तत्कालै सम्बोधन भएका छन्।
विशेष गरी श्रमका लागि, अनुदानबारे स्पष्ट हुन, पालिकामा आउँदा काम हुन्छ कि हुँदैन र सम्बन्धित शाखाको कर्मचारी भए÷नभएको भन्नेबारेमा नागरिकले बढी बुझ्ने गरेका छन् ।
यस्तै जिल्लामा जाँदा अपुग प्रमाण जुटाइदिन र आवश्यक समन्वय गरिदिनका लागि पनि फोन आउने गरेको गाउँपालिकाले जनाएको छ। पालिकाले गत आवदेखि टोल फ्री नम्बर सञ्चालनमा ल्याएको थियो।गोरखापत्रबाट
प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार