Technology Khabar ५ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
विद्यार्थीमा भएको वैज्ञानिक खोज, सीप, ज्ञान र आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गरेको छ।
सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने उक्त प्रतियोगितात्मक प्रदर्शनी यही जेठ २४, २५ र २६ गते विर्तामोडमा आयोजना गर्ने तयारी गरिएको हो।
प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाका १४० माध्यमिक तहका विद्यालयको सहभागिता रहने एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले बताए।
उनका अनुसार प्रदर्शनीमा एउटा विद्यालयले एउटा मात्र प्रदर्शनी कक्ष राख्न पाउनेछन् भने उत्कृष्टताका आधारमा विद्यालय पुरस्कृत हुनेछन्।
प्रतियोगितामा प्रथम हुने विद्यालयले रु चार लाख, दोस्रो हुनेले रु तीन लाख, तेस्रो हुनेले रु दुई लाख र चौथो हुनेले रु एक लाख पुरस्कार पाउने विभागका प्रमुख पोखरेलले जानकारी दिए। प्रदर्शनीमा भाग लिने २५ विद्यालयलाई रु २५ हजारका दरले प्रतिभा प्रोत्साहन पुरस्कार दिइने भएको छ।
राजनीतिक दलका तर्फबाट शिक्षा क्षेत्रलाई लक्षित गरेर विज्ञान तथा प्रविधिको बृहत् प्रदर्शनी पहिलोपटक आयोजना हुन लागेको जनाउँदै पोखरेलले विद्यार्थी र विद्यालय दुवैका लागि यो कार्यक्रम ऐतिहासिक अवसर हुने बताए।
विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सञ्चालन हुने प्रदर्शनीमा प्रदेशभरिका एक लाख विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराउने आयोजकको लक्ष्य रहेको छ।-रासस
प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार