लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु

Technology Khabar ४ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो।

लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेंसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको वडा तहमा पुगेर वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए। आठ वटा स्थानीय तहमध्ये बाँको पालिकामा क्रमशः परिचयपत्र वितरण गरिने उनले बताए।

यसअघि मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं सरोकारवालासँगको अन्तर्क्रियाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरिएको थियो। लमजुङमा ३८ हजार जनाको कार्ड छपाइ भएकोमा १२ हजार २६१ जनालाई वितरण गरिसकिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसीप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार यसअघि वडा तहमै पुगेर विवरण सङ्कलन गरेर छापिएर आएका कार्डलाई पुनः वडा तहमै पुगेर वितरण गर्न लागिएको हो।

राष्ट्रिय परिचयपत्र लिँदा पुन जैविक विवरण चेकजाँच गरो वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रका लागि विवरण सकलन गर्दाको सक्कलो रसिद अनिवार्य लिएर जानुपर्ने प्रशासनले जनाएको छ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहितको टोली प्रत्येक वडामा सात दिन बस्नेर आवश्यकता अनुसार १५ दिनसम्म बस्न सक्ने भएको छ। जिल्ला प्रशासन कार्यालयबाट विवरण सङ्कलन गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने बताइएको छ।

यसरो वडामै पुगेर राष्ट्रिय परिचयपत्रको कार्ड वितरण अभियानमा विवरण सकलन गराएका कुनै पनि नागरिक छुट्न नहुने भन्दै जिल्ला समन्वय समिति पूर्णबहादुर गुरुङले अभियानलाई विशेष महत्त्व दिएर स्थानीय तहले व्यापक रूपमा प्रचारप्रसार गर्न जरुरी रहेको बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया