Technology Khabar २५ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
एप्पलले आफ्नो सफारी ब्राउजरमा एआई-सञ्चालित सर्च सुविधा थप्ने योजना बनाइरहेको समाचारले गुगलका लागि ठूलो धक्का पुर्याएको छ। गुगलको आम्दानीको ठूलो हिस्सा आईफोन प्रयोगकर्ताहरूको सर्च प्रयोगमा भर पर्छ।
यो समाचारसँगै गुगलको मूल कम्पनी अल्फाबेटको सेयर ७.३ प्रतिशतले घट्यो, जसका कारण कम्पनीको बजार मूल्यबाट झण्डै १५० अर्ब डलर गुमेको छ।
रोयटर्सका अनुसार एप्पल सफारीलाई पुनः डिजाइन गर्नेबारे सक्रिय रूपमा सोचिरहेको छ। यो कुरा एप्पलका कार्यकारी एडी क्युले बुधबारको गुगल विरुद्धको अमेरिकी प्रतिस्पर्धा मामिलासम्बन्धी मुद्दामा बयान दिँदै उल्लेख गरेका थिए।
स्रोतका अनुसार क्युले बताएअनुसार, गत महिना सफारी सर्च पहिलोपटक घटेको थियो, जसको कारण प्रयोगकर्ताहरू बिस्तारै एआई तर्फ आकर्षित भइरहेका छन्। सोही दिन एप्पल को सेयर पनि १.१ प्रतिशतले घटेको थियो।
गुगलले आफ्नो ब्लगमा जारी गरेको विज्ञप्तिमा भने सफारी सहित एप्पल का प्लेटफर्महरूबाट आउने सर्च अनुरोधहरूको कुल संख्या अझै बढिरहेको दाबी गरेको छ। “गुगल सर्च प्रयोगकर्ताका लागि अझ उपयोगी देखिएको छ, र उनीहरूले यसलाई नयाँ कुराका लागि र नयाँ तरिकाले प्रयोग गरिरहेका छन्,” गुगल ले भनेको छ।
गुगलले आवाज र दृश्य सर्चजस्ता सुविधाले समग्र सर्च संख्या बढाएको उल्लेख गरेको छ। यद्यपि क्युले कुन प्रकारका सर्चहरूको तुलना गर्दै आफ्नो बयान दिएका थिए भन्ने स्पष्ट नभएको रोयटर्सले उल्लेख गरेको छ।
तर क्युको भनाइले सर्च प्रविधिमा ठूलो परिवर्तन आउन सक्ने संकेत दिएको छ, जसले गुगलको प्रमुख सर्च व्यवसायलाई खतरा पुर्याउनेछ।
यस्तै व्यवसायले गुगललाई विज्ञापनकर्ताहरूको पहिलो रोजाइ बनाएको हो, तर अब सोही व्यवसाय अमेरिकी प्रतिस्पर्धा नियामकको निगरानीमा परिरहेको छ। गुगल विरुद्ध दुईवटा ठूला मुद्दा दर्ता भइसकेका छन्।
हाल गुगलले सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिन बन्नका लागि एप्पललाई वार्षिक करिब २० अर्ब डलर तिर्छ भन्ने अनुमान गरिएको छ, जुन सफारी ब्राउजरमार्फत प्राप्त यसको सर्च विज्ञापन आम्दानीको करिब ३६ प्रतिशत हो।
अमेरिकी न्याय विभागले गुगलको सर्च प्रभुत्व अन्त्य गर्नका लागि प्रस्ताव गरेको उपायमध्ये एक भनेको डिफल्ट सर्च इन्जिन बन्न कम्पनीहरूले तिर्ने रकममा प्रतिबन्ध लगाउने हो।
“एप्पल सँगको विशेषता गुम्दा पनि गुगल लाई निकै गम्भीर असर पर्नेछ, चाहे अन्य कुनै उपाय लागू गरियोस् वा नगरियोस्,” विश्लेषक गिल लुरियाले भने।
प्रकाशित: २५ बैशाख २०८२, बिहीबार